विवाद मिलाउन नेतृत्वमाथि हस्तक्षेप बढाउँदै

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको शक्ति संघर्षलाई साम्य पार्न दोस्रो र तेस्रो पुस्ताका नेताले हस्तक्षेप बढाएका छन्। खास गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले मोर्चा कसेपछि विवाद चरम विन्दुमा पुगेको छ।

शीर्ष नेताहरुबीचको टकरावले तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा पुन: विभाजनको संघारमा पुगेपछि दोस्रो र तेस्रो पुस्ताका नेताहरुले बिहीबारदेखि हस्तक्षेप बढाएका हुन्। 

त्यही हस्तक्षेपकै क्रममा शुक्रबार बिहान नेकपा स्थायी कमिटी सदस्य तथा कृषि मन्त्री घनश्याम भुसालको संयोजनमा पुल्चोकस्थित सरकारी निवासमा नेकपाका दोस्रो तहका ११ नेताहरुको बैठक बसेको थियो। भुसालको संयोजनमा बसेको उक्त बैठकमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र दुवैतर्फका ११ जना नेताहरु सहभागी भएका थिए।

भुसालको सरकारी निवासमा भएको ११ भाइको बैठकको उद्धेश्य थियो, विवादमा हेलिएका पार्टी नेतृत्वमाथि दबाब बढाउनू। उक्त बैठकमा ओली, नेपाल र दाहाल तीनै गुटका नेताहरु जुटेर नेतृत्वका लागि तीन बुँदे सुझाव निकालेका छन्। 

११ भाइले बिहानभरी गरेको छलफलपछि निकालेको सुझावको सार बोकेर नेता भुसाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शुक्रबारै बालुवाटार जाँदैछन्। बिहीबारसम्म नेताहरुको शक्ति संघर्षका कारण गुटगत भेला बढिरहेका बेला नेतृत्वमाथि हस्तक्षेपसहित दबाब बढेको हो।

के छन् ११ भाइका सुझाव

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भुसालका अनुसार ११ भाइको बैठकले तयार पारेका सुझाव प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमक्ष प्रस्तुत गर्ने तयारी भएको छ।

'हामीले पार्टीको अहिलेसम्मको उपलब्धि र एकता बचाइराख्न गम्भीर छलफल गर्‍यौँ', उनले थाहाखबरसँग भने, 'पार्टी एकता नै नटुंगिइसकेको अवस्थामा यसरी लडेर कुरो बिग्रिने निचोड हामीले निकालेका छौं। हाम्रा सुझावहरु प्रधानमन्त्री समक्ष प्रस्तुत गर्न समय मागेको छु, समय मिलेमा आजै बालुवाटार गएर यी कुरा राख्‍ने तयारीमा छु।'

११ भाइले निकालेको सुझावको पहिलो नम्बरमा पार्टी नेतृत्वको तर्फबाट अब विवाद बढाउने कुरा कसैले पनि नगर्ने कुरा उल्लेख गरिएको छ। त्यसैगरी उनीहरुले नेतृत्वलाई दिएको दोस्रो सुझावमा एकताका आधारहरूको पहिचान गरी तिनलाई टेकेर अघि बढ्न भनिएको छ। 

पुल्चोकमा भएको ११ भाइको बैठकले तेस्रो सुझावका रुपमा अहिलेसम्म भएका कमी कमजोरीलाई दुवै पक्षले मनन गर्नुपर्ने निश्कर्ष निकालेको भुसालले बताए। 'यसरी विवाद गरेर त हामी कहीँ पुग्दै पुग्दैनौँ, अहिलेसम्मको सबै उपलब्धी गुम्छ', उनले भने, 'त्यसैले नेतृत्वमाथि विवाद निरुपणका लागि हामीले आग्रह गरेका छौं। अब यो भन्दा विवाद अघि बढे परिस्थिति बिग्रिएर सम्हाल्न नसकिने अवस्थामा पुग्छ।'

को को थिए बैठकमा

कृषिमन्त्री भुसालको संयोजनमा भएको बैठकमा अध्यक्ष केपी ओलीनिकट नेताहरु विष्णु रिमाल, शंकर पोखरेल र प्रदीप ज्ञवाली उपस्थित थिए। उक्त बैठकमा प्रचण्डनिकट नेताहरू टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा पनि सहभागी थिए। वरिष्ठ नेता माधव नेपालनिकट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई भेलामा सहभागी  थिए। 

धुम्बाराहीमा धर्ना

यसैबीच नेतृत्वको शक्ति संघर्षका कारण फुटमा पुग्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई जोगाउन नेताहरुले केन्द्रीय कार्यालय धुमबाराहीमा धर्ना दिएका छन्। 
पार्टीलाई विभाजित हुनबाट जोगाउन नेकपा केन्द्रीय सदस्यहरुले धर्ना दिएका हुन्। 

नेकपा सांसद तथा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीलाई विभाजनबाट रोक्न आवश्यक दबाबका लागि आफूहरु पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसेको जानकारी दिएकी छन्। झाँक्री, ठाकुर गैरे, रामप्रसाद सापकोटा दीपशिखा, विजय पौडेल र हिमाल शर्मासहितले धुम्बाराहीमा धर्ना दिएका हुन्। 

'हो, हामी केन्द्रीय कार्यालयमा जम्मा भइरहेका छौं', उनले थाहाखबरसँग भनिन्, 'नेतृत्वको शक्ति संघर्षका कारण पार्टी विभाजित हुनुहुँदैन। दुवै अध्यक्षसहितको नेतृत्वले गल्ती सच्याएर अघि बढ्ने प्रण गर्नुपर्छ, फुटको दिशातर्फ जाने होइन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.