|

पर्वत : जिल्लाकी १४ वर्षीया एक किशोरी असार १२ गतेदेखि घरबाट एकाएक हराइन्। खोज्दै जाँदा उनी २७ वर्षीय एक युवासँग सदरमुकाम कुस्मा नगरपालिकाको एक होटलमा भेटिइन्। 

बर्दियाको गुलरिया नगरपालिका घर भएका ती युवा पर्वतमा नै ट्याक्टर चलाउने गर्थे। प्रहरीले लिएको बयानअनुसार असार १२ गतेदेखि एकसाथ रहेका ती युवा र किशोरीबीच होटलमा सहमतिमै यौनसम्पर्क भयो। तर किशोरी फेला परेपछि उनकी आमाले आफ्नी छोरीमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी गरिन्।

प्रहरी निरीक्षक एवम् ​जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी ​बुद्धि प्रसाद सुवेदीका अनुसार किशोरीकी आमाले उजुरी गरेपछि ती युवा पक्राउ परेका छन्। उनले दुवैजनाको सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएका छन्। तर किशोरी नाबालिग नै भएकाले ती युवाविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। 

किशोरीको स्वास्थ्य र शारीरिक अवस्था जाँच गरिएको मेडिकल रिपोर्ट आउन १/२ दिन लाग्ने प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार खड्काले बिहे गर्ने मनसायले नै ती बालिकालाई सम्पर्कमा ल्याएको तथा शारीरिक सम्पर्क राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको भएपनि उनलाई बलात्कारकै मुद्दा लाग्छ।

नेपालको कानुनअनुसार १८ वर्ष उमेर नपुगेका किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखेको भएपनि त्यो बलात्कार ठहर्छ। साथै, २० वर्ष उमेर नपुगेकी युवतीसँग सहमतिमै विवाह गरेको भएपनि बालविवाहको मुद्दा चल्छ। किशोरीलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.