|

डडेल्धुरा : डोटीका पत्रकार तेजबहादुर खड्का (तेजु) मृत भेटिएको घटनाबारे सत्यतथ्य छानबिन माग गर्दै नेपाल प्रेस युनियनले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ। 

सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रेस युनियन अध्यक्षले मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार खड्का मृत्यु घटनाको सत्यतथ्य छानबिन र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन्।

शुक्रबार दिउँसो गएको पत्रकारको टोलीले परिवारको सदस्य गुमेको शोकमा रहेका पत्रकार खड्काका परिवारलाई राहत प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेका छन्‌ध्यानाकर्षण पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले घटनाको छानबिनका लागि सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिने बताए‌।

पत्रकार खड्का बेपत्ता हुनासाथ प्रदेश सरकारले खोजी कार्यका लागि पहल गरेको स्मरण गर्दै भट्टले भने, ‘हामीले पत्रकार खड्का बेपत्ता हुनासाथ खोजीकार्य थालेका थियौँ, अहिले कंकाल खड्काको नै भएको पुष्टि भएको छ, के-कति कारणले उनको मृत्यु भएको हो, त्यसको छानबिनका लागि प्रहरी प्रशासनलाई निर्देशन दिन्छु।’ पत्रकार खड्काको परिवारलाई उचित राहत व्यवस्था गर्न प्रदेश सरकारले पहल गर्ने उनले बताए।

यस्तो थियो घटना 

बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलबाट फर्कने क्रममा २०७५ भदौ ९ गतेदेखि बेपत्ता भएका खड्काको २०७६ मंसिर २ गतेका दिन ज्याकेट, झोला, पर्स, परिचयपत्र, मोबाइलसँगै कंकाल (दुई वटा करङका हड्डी) भेटिएको थियो। 

भेटिएको करङ्गको हड्डीको डिएनए नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा सो अवशेष पत्रकार खड्काकै भएको पुष्टि भएको थियो। 

बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोटिङ पश्चात् फर्कने क्रममा बर माग्ने भन्ने ठाउँबाट बेपत्ता पत्रकार खड्काको १५ महिनापछि सो स्थानबाट करिब १७ माइल टाढा लौरी विनायक भीरमा कंकाल भेटिएको थियो।

रिपोटिङमा हिँडेका पत्रकार बेपत्ता हुनु, बेपत्ता भएको १५ महिनापछि कंकाल भेटिनु तथा कंकालसँगै फेला परेका ज्याकेट, झोला, पर्स, परिचयपत्र, मोबाइल तथा कागजातहरु दुरुस्तै देखिएको भन्दै नेपाल प्रेस युनियनले यो घटना शंकास्पद भएको दावी गरेको छ।

फेला परेका सामग्रीको अध्ययन गर्दा खड्काको हत्या भएको हुनसक्ने आशंका भएकाले घटनाको गहिरो अध्ययन गरी सत्य तथ्य छानबिनका लागि युनियनले माग गरेको छ। 

घटना भएको दुई वर्ष बितिसक्दा पनि सरकारले घटनाको यथार्थ अवस्था बाहिर ल्याउन नसकेको प्रति दुःख प्रकट गर्दै यथासक्य घटना छानबिन गरी वास्तविकतालाई बाहिर ल्याइदिन आग्रह गरेको नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले बताए। 

उनले भने, ‘घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकाे हामीले पुनः सुरुबाट छानबिन गरी सत्यतथ्य कुरा बाहिर ल्याइदिन प्रदेश सरकारसँग माग गरेका छौँ।’ यसका साथै पीडित परिवारलाई राहतको व्यवस्था गर्न पनि सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.