विषादी प्रयोग गर्ने मार्नु मानवीय स्वास्थ्यलाई खतरा

|

काठमाडौं : सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताएका छन्। 

संघीय संसद प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका कार्यदलका संयोजक एवं प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंले भारतको राजस्थानबाट हावाको गति दक्षिणतर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको बताए। 

उनले बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज (शुक्रबार) भारतको मध्यप्रदेशतिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताए। 

भारतको इटहवा भैरहवा नाकादेखि ५ सय किलोमिटर नजिक छ। तर आज सलहको झुण्ड दक्षिणतर्फ लाग्दा ७ सय ६७ किलोमिटर टाढा पुगेको उनले बताए। हुमागाईंले मनसुन तथा हावाको दिशामा नाटकीय परीवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन नसक्ने दाबी गरे। 

उनले सलह नियन्त्रणका लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको बताए। मानव वस्तीनजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उनले स्पस्ट पारे। 

तर अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने चारपाँच वटा विषादीलाई तयारी अवस्थामा राखिएको बताए। उनले अहिले नेपालमा ६० लाख देखि ६५ लाखको संख्यामा नेपाल आइपुगेको र नेपालमा अण्डा पार्ने सम्भावना पनि नभएकाले सलहलाई आवाजको माध्यमबाट भगाउन सकिने बताए।

कृषि तथा पशुपन्क्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भने आसार १७ गते सम्म देशका अधिकांश जिल्लामा सलह पुगेको तर दश वटा जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको बताए। 

असार १३ गते भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पा सम्म पुगेको र तीन दिन भित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको उनले बताए।

नेपाल भित्रिएको ५ दिनमा अर्घाखाची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछाम सम्म पुगेको बताए। उनले १७ गते सम्म दाङमा सबैभन्दा धेरै ५ सय हेक्टर, प्युडानमा २ सय ८३ हेक्टर, अर्घाखाँचीमा १ सय हेक्टर र मकवानपुरमा १ सय ५ हेक्टर जमिनमा क्षति पुगेको बताए। 

बैठकमा सांसदहरुले यस अघि पनि कृषि मन्त्रालय र विज्ञहरुले नेपालमा सलह आउँदैन भनेको तर नेपालमा ठूलो संख्यामा सलह आएकोले फेरीपनि नआउने भन्‍ने सम्भावना नरहेकोले त्यसको नियन्त्रणको लागि तयारी बढाउन सुझाव दिएका छन्। 

उनीहरुले थाल ठटाएर अथवा गीत गाएर सलह भगाउने कुरा असम्भव भएकाले विषादीको प्रयोग गर्ने या अन्य कुनै विकल्प किसानलाई दिनुपर्ने बताए। 

यस्तै धान र मकै सलहले मनपराउने भएकाले त्यसलाई जोगाउनु चुनौतिपूर्ण भएको सांसदहरुले बताए। मन्त्रालयले किसानहरुलाई जालिले धानको ब्याड ढाक्न दिएको सुझावमा पनि सांसदहरुले असन्तुष्टि जनाए। 

धेरै विगाहा जमिनमा खेति गर्न लगाईएको ब्याड ठूलो हुने भएकाले जाली लगाएर रोक्ने काम असम्भव र अव्यवहारीक भएको सांसदरुले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.