|

जाजरकोट : छेडागाड नगरपालिका–१३ खारावासीका सर्वसाधारणहरुले भेरी नदीको पानी पिउँदै आएका छन्। वर्षौंदेखि आधा घण्टाको बोकेर ल्याइएको नदीको दुषित पानी पिउँदै आएका छन्।

सबै तहका नेता तथा जनप्रतिनिधिसँग स्वाच्छ पानीका लागि याचना गरेका खाराबासीले वर्षैंभरि त्यही दुषित पानी पिउनुपर्ने बाध्यता हट्न नसकेको पदमा लुहारको गुनासो छ।

‘भेरीबाट आधा घण्टा उकाली चढेर घरमा पुग्न बित्तिकै पानी प्रयोग गर्न नमिल्ने भएकाले एक घण्टा नहल्लाइ राख्दा एक किलो बालुवा गाग्रीको तल थिग्रिएर बसेको हुन्छ,’ उनले भनिन्, ‘त्यसपछि मात्र पिउन योग्य हुने गर्दछ।’

कमला लुहारको पीडा पनि त्यस्तै पीडा छ। तीन महिने दुधे बच्चा छाडेर दैनिक तीनपटक भेरी नदीमा पानी लिन पुग्नुपर्ने उनले बताइन्। ‘संघ, संस्थादेखि अन्य जनप्रतिनिधिहरु हेरिगए पनि अहिलेसम्म पानी ल्याउने कुनै सुरसार छैन,’ उनले भनिन्, ‘पशुचौपायादेखि मानिस सवैले भेरी नदीमा पानी पिउनुपर्ने बाध्यता छ।’

खारामा तीस घर दलित परिवार र अन्य केही जनजाति समुदायको वसोबास रहेको छ। खारामा पीडा सुन्ने धेरै आए पनि काम कसैले नगरेको धनवीर लुहारको गुनासो छ। ‘पानी बोक्दाबोक्दा टाउको समेत दुख्न थालिसक्यो। घरमा पाहुना आउँदा धमिलो बालुवा मिसिएको पानी दिन लाज लाग्छ,’ उनले भने, ‘घरमा भएका शौचालयमा समेत पानी बोकेर प्रयोग गर्दा थप सास्ती हुँदै आएको छ।’

सवैले देख्ने ठाउँमा छ खारा 

छिन्चु–जाजरकोट सडक खण्डको बीच भाग खारा पर्दछ। यही बाटो भएर अहिलेसम्म भयौँ भिआइपीको सवार समेत भइसकेको छ। खाराबासीले पानीको समस्या नसुनाएको सायद कोही बाँकी नरहेको स्थानीयको भनाइ छ।

यहाँ रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पानीको ठूलो मारमा रहेका छन्। घरबाटै बोकेर लिएको पानी छिनभरमै सकिने भएकाले विद्यार्थीहरु हैरान हुने शिक्षकहरु बताउँछन्। 

पानीजन्य रोगबाट पीडित

फोहोर पानी पिउँदा खाराबासीमा बर्सेनि पानीजन्य रोग देखा पर्दै आएको छ। झाडापखाला, जुकालगायतका रोगबाट यहाँका सर्वसाधारणहरु सधैं पीडित हुने गरेका छन्। 

वडाअध्यक्ष मोतीलाल खत्रीलाई पानीको समस्य हल गर्न पटकपटक माग गरे पनि सुनुवाइ नभएको स्थानीयको गुनसो छ। यता, वडाध्यक्ष खत्रीले सानोतिनो रकमले खानेपानी आयोजना निर्माण नहुने भएकाले अध्ययनको काम भइरहेको र केही समयपछि पानीको लागि काम सुरु हुने बताए। करोडभन्दा बढीको आयोजना सञ्चालन गरेमा मात्र खानेपानी पुग्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.