|

डडेल्धुरा :  बझाङको केदारस्युँ गाउँपालिका ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेना सवार गाडी दुर्घटनामा परेको छ।

मेल्लेसी गाउँमा पहिरोमा परी ठूलो जनधनको क्षति भएपछि सोही ठाँउमा उद्धारका लागि हिँडेको नेपाली सेना सवार जिप दुर्घटनामा परेको हो। केदारस्युँ गाउँपालिका–४ बाग्थलामा सेना सवार गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सेनाले भाडामा लिएको से १ ज ४७७ नम्बरको जिप दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवक्ता लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। उनका अनुसार गाडीमा नेपाली सेनाका उपसेनानी शिव श्रेष्ठसहित १५ जना सवार थिए। गाडी सडक छेउमा पल्टिँदा नेपाली सेनाका ३ जना जवान घाइते भएका हुन्।

घाइते हुनेमा सिकेन्द्र चलाउने, राजु कुमाल र मीनबहादुर शाही रहेको प्रवक्ता कार्कीले जानकारी दिए। उनका अनुसार ढाडमा चोट लागेका सेनाका जवान चलाउनेलाई डडेल्धुरा अस्पताल पठाइएको छ। ‘अन्य घाइते २ जनाको स्वास्थ्य केन्द्र देउलेकमा उपचार भइरहेको छ।’ उनले थाहाखबरसँग भने,‘उनीहरुको अवस्था समान्य छ। बाँकी टोली घटनास्थलतर्फ गइसकेको छ। 

४ जनाको शव निकालियो
विरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेसी गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।

वडा अध्यक्ष गणेशबहादुर बोहोराकाअनुसार ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षका छोरा प्रयाग, ८० वर्षीय दले जेठारा र १३ वर्षीय सन्तु जेठाराको शव भेटिएको छ।

राममतीकी १६ वर्षीया छोरी अस्मितासँगै १५ वर्षीया शान्ति र २२ वर्षीय गिरी जेठारा अझै बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको छ। शुक्रबार राति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १८ घर बगाएको थियो। मध्य रातीको समयमा पहिरो खस्दा मस्त निन्द्रामा सुती रहेका मल्लेसी बासीको मध्यरातामा विचल्ली परेपछि भागदौड गर्दा गर्दै ७ जना बेपत्ता भएको थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.