|

गोरखा : कोरोनाका कारण ज्यान गुमाएका गोरखाको पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा अवरोध भएको छ। शनिबार बिहान कोरोनाकै कारण ज्यान गुमाएका पुरुषको शव व्‍यवस्थापनका लागि नेपाली सेनाको विशेष टोलीले शनिबार दिउँसो सहिद लखन गाउँपालिका-१ को लुदीखोला घाटमा लगेपछि स्थानीयले अवरोध गरेका हुन्।

स्थानीयले लामो समयसम्म अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्यास प्रहार गरेको छ। गत असार १६ गते कतारबाट आएका उनको उपचारको क्रममा आज बिहान करिब ५ बजे गोरखा अस्पतालमा रहेको आइसोलेशनमा मृत्यु भएको थियो।

सरकारले तय गरेको कोरोना संक्रमितको शव व्यवस्थापन गर्नुपर्ने निर्देशिकाअनुसार संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाँडो व्यवस्थापन गर्नुपर्ने उल्लेख गरेको छ। शनिबार बिहान मृत्यु भएका संक्रमितको शव व्यवस्थापन करिब १० घण्टासम्म हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका उनी मधुमेह रोगी भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको थियो। कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

कोरोना संक्रमितको शव व्यवस्थापनमा प्रशासनले पर्याप्त तयारी नगरेको आरोप लगाउँदै स्थानीयले शव व्यवस्थापनका लागि पुगेका सुरक्षाकर्मी टोलीमाथि ढुंगा प्रहार गरेका थिए। स्थानीयले नियमित प्रयोग गरिरहेने घाटमा नै शव व्‍यवस्थापन गर्न नहुने भन्दै विरोध जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.