|

बैतडी : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीका स्थानीय तहहरुमा विभिन्न योजनाहरु सम्पन्न भएका छन्। उक्त कार्यक्रममा बाटोघाटो निर्माणलाई प्राथमिकतामा राखिएको छ।

दोगडाकेदार गाउँपालिकामा आएको ७५ लाखमा पदमार्ग, सिँचाइ योजनालगायतका काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। प्रत्येक वडामा कम्तीमा एक योजना गरेर १३ वटा योजना सम्पन्न हुने चरणमा रहेका छन्। ती योजनामा प्रत्येक वडाका ४० जनाको दरले रोजगारी पाएको अध्यक्ष कार्की बताउँछन्।

दशरथचन्द नगरपालिमाका पनि २८ लाख ६२ हजार बजेटले ११ वटै वडामा गरेर पिसिसी बाटो, सडक निर्माण, चौतारा निर्माण गरिएको रोजगार संयोजक नन्दराज जोशीले जानकारी दिए। प्रत्येक वडामा दुई दुई योजनाका हिसाबले योजना निर्माण भइरहेका र एक हजारजनाभन्दा बढीले रोजगारी पाएको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्र

सुर्नया गाउँपालिकामा आएको ६२ लाख ८० हजार रकमबाट आठवटै वडामा गरी १६ योजना सम्पन्न भएका छन्। पिसिसि बाटो, फिल्ड कटिङ, सडकको नाली निर्माण, खानेपानी निर्माणको काममा दुई हजार ६०० जनाले रोजगारी पाएको रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए। 

यस्तै, पुर्चौडी नगरपालिकामा पनि उक्त कार्यक्रमअन्तर्गत ८५ लाख रुपैयाँ आएका हो। उक्त बजेटले पिसिसी बाटो, गारेटो बाटो, गाउँघर क्लिनिकको भवन निर्माण, तटबन्ध निर्माण गरी १३ योजना सम्पन्न भएका र ३८३ जनाले रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिए। 

पाटन नगरपालिकामा रोजगार कार्यक्रम बापत आएको ३२ लाख २७ हजार रुपैयाँले नहर सरसफाई, सिँचाइ, बाटो निर्माणको काम गरिएको छ। यस नगरपालिकामा ७०० जनाले रोजगारी पाएको रोजगार संयोजक महेशराज पन्तले जानकारी दिए।

यता शिवनाथ गाउँपालिकामा पनि उक्त कार्यक्रमले १२ योजना सम्पन्न हुने चरणमा रहेका छन्। २८ लाख १० हजार बजेटले बाटो निर्माण, सडक सरसफाई, बर्थिङ सेन्टरको पर्खाल निर्माणलगायत काममा १०० जनाले रोजगारी पाएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मीदत्त जोशीले बताए। सिगास गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका योजना अन्तिम चरणम पुगेका छन्। कार्यक्रमअन्तर्गत छुट्टिएको १६ लाख रुपैयाँले घोरेटो बाटो निर्माण र बर्थिङ सेन्टर निर्माणलगायतका निर्माण गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। यस गाउँपालिकामा १०० जनाले रोजगारी पाएका छन्।

डिलाशैनी गाउँपालिकामा ४६ लाख ५६ हजार बजेटले २४ योजना सञ्चालनमा रहेका रोजगार संयोजक हरिस जोशीले बताए। सडक निर्माण गरिएका ती योजनामा ३०० जनाले रोजगारी पाएका जनाएको छ। मेलौली नगरपालिकामा ६१ लाख ९७ हजार बजेटमा चार योजना सञ्चालनमा रहेका छन्।  खानेपानी र सिचाँइका ती योजनामा करिब ५०० जनालो रोजगारी पाएको रोजगार संयोजक सरिता बोगटीले जानकारी दिइन्।

पञ्चेश्वर गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगारका कार्यक्रमअन्तर्गत सात योजना सम्पन्न भएका छन्। योजनामा २०० भन्दा बढीले रोजगार पाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.