|

संखुवासभा : सिलिचोङ गाँउपालिका–३ साप्तेलका भूकम्प पीडित १३ परिवारले लालपुर्जा पाएका छन्। जिल्ला आयोजना कार्यान्वयन इकाईले जग्गा खरिद गरेर लालपुर्जा वितरण गरेको हो।

भूकप्पबाट जग्गा जमिन गुमाएका साप्तेलका १३ घर परिवारलाई साढे १८ रोपनी निःशुल्क जग्गा प्रदान गरिएको हो। आत्मनिर्भर सेवा केन्द्र (दिगो समाधान)को प्राविधिक सहजीकरणमा जोखिमयुक्त बस्तीको रुपमा पहिचान भएको पहिरो र भूकम्प पीडितलाई सिलिचोङ–३ को मानेडाँडामा जग्गा व्यवस्थापन गरिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट जग्गा जमिन गुमाएकालाई निःशुल्क जग्गा उपलब्ध गराएपछि पीडितहरु खुसी भएका छन्। १३ परिवारलाई एकीकृत बस्तीको रुपमा व्यवस्थापन गरेको छ। प्राधिकरणले ती परिवारका लागि सडक, पानी, विजुलीको पनि उपलव्ध गराउने भएको छ। पीडित परिवारलाई दिइएको जग्गा १० वर्षसम्म बिक्री वितरण नहुने गरी मालपोत कार्यालयमा रोक्का राखिने छ।

भूकम्प पीडित परिवारलाई प्रदेश सांसद तुलसीप्रसाद न्यौपाने र जिल्ला पुनर्निर्माण सहजीकरण समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यले संयुक्त रुपमा गाउँपालिका अध्यक्ष राम कुलुङलाई जग्गाको धनीपुर्जा हस्तान्तरण गरेका छन्। जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा खरिद गर्ने प्रतिघर दुई लाख सरकारले अनुदान दिँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.