|
फाइल फोटो

सर्लाही : जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्ती नै जोखिममा परेका छन्। मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिपरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयवासीले बताएका छन्।

जिल्लाको लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ बन्दै गरेका राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनिए पनि ती नदीजन्य पदार्थ गाउँगाउँमा खुलेका क्रसरमा तथा सोझै भारत जाने गरेको स्थानीयवासीले बताएका छन्। लालबन्दी नगरपालिका–६, १५, १६ र १७ को सिमाना पर्ने कालिन्जोर खोलाबाट निकालिएको नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा भण्डारणहरुमा सङ्कलन हुने तथा बाहिर निर्यात हुने गरेको पाइएको हो।

'नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने टिपर तथा ट्र्याक्टरका कारण पूर्वपश्चिम लोकमार्गका साथै शाखा सडकखण्ड भत्केर स्थानीयवासीलाई आवतजावत गर्नसमेत समस्या भएको छ', स्थानीय युवा रमेश अधिकारीले भने। नदीजन्य पदार्थ बोक्ने टिपर तथा ट्र्याक्टरका कारण लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न सडक भत्केर हिँड्नै नसक्ने अवस्थामा पुगेको उनको भनाइ छऽ खोला अनुगमन नहुँदा जिल्ला समन्वय समिति र स्थानीय तहको मिलेमतोमा जिल्लाका खोला दोहनले तीव्रता पाएको छ।

खोलाको बहाव जथाभावी हुने गरी असाध्यै लापरवाही ढङ्गले उत्खनन हुँदासमेत सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिएको लालबन्दी नगरपालिका–१७ का युवा लक्ष्मण खड्काले बताए। लालबन्दी नगरपालिकाको कालीन्जोर, फुलजोर, लखन्देही खोलामा वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत जथाभावी असारमा पनि खोला दोहन तथा उत्खनन हुँदासमेत सम्बन्धित निकायले वास्ता नगरेको उनको भनाइ थियो।

लालबन्दी नगरपालिका र हरिवन नगरपालिकाको सिमानामा पर्ने लखनदेही नदीमा जेसिबी लगाएर ट्र्याक्टरको प्रयोग गरी नदीजन्य पदार्थ वडाध्यक्ष र नगरप्रमुखको मिलेमतोमा निकासी भएको स्थानीय युवाहरुले बताएका छन्। गाउँमा विकास गर्ने बहानामा असारमा पनि खोलामा जेसिबी प्रयोग गरिँदा समेत अन्य सरोकारवाला निकाय मौन बसेको उनीहरुको आरोप छ। नगरप्रमुख गणेश प्रसाईं र हरिवन नगरपालिका–२ का वडाध्यक्ष अर्जुन महतोले पनि केही दिन खोलामा जेसिबी चलाउन दिन विभिन्न स्थानमा फोन गरेको उनीहरुको भनाइ छ।

जिल्लाका साना तथा ठूला नदीहरुमा असार, साउन र भदौ मसान्तसम्म नदीजन्य पदार्थ निकासी-पैठारी नगर्न नगराउन पत्राचार गरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए। केही स्थानीय निकायका जनप्रतिनिधिहरुको मिलेमतोमा असार, साउन र भदौ मसान्तसम्म नदीजन्य पदार्थ निकासी पैठारी भए गरेको पाइएमा आवश्यक कारवाही गर्ने उनको भनाइ छ। हरिवन नगरपालिका क्षेत्रभित्र नदीजन्य पदार्थ दोहन भएको पाइएकाले नगरप्रमुख प्रसाईंसँग यसबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नदीजन्य पदार्थ उत्खननको जिम्मा पाएका स्थानीय तहले नै राजश्व सङ्कलनलाई मात्रै मुख्य प्राथमिकता राख्दा ठेकेदारको मनोबल बढ्दै गएको हो। ठेकदारहरुले हालसम्म कति उत्खनन, भण्डारण र बेचबिखन गरे भन्ने विवरण लालबन्दी, ईश्वरपुर र वाग्मती  नगरपालिकासँग पनि छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.