|

धादिङ : जिल्लाको दलित समुदायभित्रका असहाय, गरिब र जेहेन्दार विद्यार्थीका लागि धादिङबेसीनजिकै जिल्लाको पहिलो दलित छात्रबासको निर्माण शुरु गरिएको छ।

धादिङको नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिका-४ मा निर्माण भइरहेको दलित छात्रावास भवन निर्माणका लागि दलित सशक्तीकरण संघ बागमती प्रदेशले संयोजन गरेको छ। संघले ५ आना जग्गा १५ लाखमा खरिद गरेर भवन निर्माण कार्य अघि बढाइएको हो।

भवन निर्माणका लागि लागत ४१ रुपैयाँ खर्च लाग्ने अनुमान अनुसार छ। त्यैअनुसार नीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ३४ लाखमा जनश्रमदान ७ लाख थपेर निर्माण सम्पन्न गरिने निर्माण समितिका अध्यक्ष श्याम विश्वकर्माले जानकारी दिए।

छात्रावास निर्माण भइसकेपछि त्यसको संरक्षण तथा सञ्चालनका लागि  नगरपालिकाले सहयोग गर्नेछ, सदरमुकामनजिकै बन्न लागेको यस छात्रावासले जिल्लाभरका गरिब, विपन्न, जेहेन्दार दलित विद्यार्थीलाई लाभ पुग्ने नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको भनाइ छ। 

प्रस्तावित दलित छात्रावास ४० जना राख्‍न सकिने क्षमताको हुने बताइएको छ।  छात्रावासमा विद्यालय र क्याम्पसको औपचारिक शिक्षासँगै दलित समुदायभित्रका लोप हुँदै गएका छालाको उद्योग, गरगहना निर्माण, कपडा सिलाइ बुनाइसम्बन्धी व्यावसायिक सीपमूलक तालिमको समेत व्यवस्था गरिने  दलित सशक्तीकरण संघ बागमती प्रदेशका अध्यक्ष गोपाल विश्वकर्माले बताए।

भवन तथा पूर्वाधार निर्माण कार्य  २०७७ सालभित्र नै सम्पन्न गरी २०७८ सालबाट छात्रावास सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको निर्माण समितिका अध्यक्ष विश्वकर्माको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.