पार्टीको आन्तरिक विवादमा नजोडिन आग्रह

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने कुरा केवल अफवाह मात्रै भएको बताएका छन्। 

आइतवार बिहान शीतल निवासमा पुगेर अध्यक्ष दाहालले केही दिनयता आएका महाअभियोगसम्बन्धी हल्ला केबल भ्रम मात्रै भएको बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि महाभियोग लगाउने गरी पार्टीभित्रको एउटा समूहले तयारी गरिरहेको बताएपछि अध्यक्ष दाहाल अन्य दुई नेतासहित शीतल निवास पुगेका हुन्। 

दाहालले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि साथ लिएर राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका थिए। भेटका क्रममा उनले राष्ट्रपतिलाई अहिले बाहिर आएका महाअभियोगसम्बन्धी कुनै पनि कुरामा सत्यता नभएको बताएका थिए।

'महाभियोग अफवाह मात्रै हो, यसमा कुनै सत्यता छैन। यो अफवाहको भ्रममा परेर कुनै पनि किसिमको धारणा नबनाउनु होला', दाहालको भनाइ उद्धृत गर्दै प्रेस संयोजक विष्णु सापकोटा जुगलले थाहाखबरसँग भने, 'पार्टीको आन्तरिक विवादमा राष्ट्रपति जस्तो सम्मानित संस्थालाई मुछ्ने कुरा हुनै सक्दैन। यस्तो औचित्यहीन र बेकारको कुराको पछि कोही पनि लाग्‍नु राम्रो हुँदैन।'

अध्यक्ष दाहालले राष्ट्रपतिसँगको भेटका क्रममा अहिले चलिरहेको विवाद पार्टीको विशुद्ध आन्तरिक मामिला भएको दोहोर्‍याए। 'यो पार्टीको विशुद्ध आन्तरिक मामिला हो। यसमा कसैले पनि राष्ट्रपतिलाई विवादमा तान्‍न खोज्‍नु ठीक हुँदैन', उनले भने, 'पार्टीमा विवाद भइरहन्छन्, वार्ता हुन्छ, मिल्छ। हामी अहिले देखिएको विवादलाई पनि मिलाएर अघि बढ्छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.