जमुनाघाटमा व्यवस्थापन भयो संक्रमितको शव

|

बागलुङ : कोरोना संक्रमणका कारण शनिबार राति मृत्यु भएका बागलुङको निसीखोला गाउँपालिका–२ देविस्थानका २९ वर्षीय युवाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ। 

ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका उनको शव ढोरपाटन नगरपालिका–४ को जमुना घाटमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गण्डकी प्रदेशमा मृत्यु भएकामध्ये स्थानीयको अवरोधबिना शव व्यवस्थापन भएको यो पहिलो घटना हो। यसअघि पोखरा र गोरखामा मृत्यु भएका तीन जनाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका थिए। मृतक फोक्सोको रोगले थलिएर भारतमा उपचार सम्भव नभएपछि असार ३ गते बागलुङ फर्किएका थिए। 

पानी परेकाले ढोरपाटन नगरपालिकाको हुन्द्र फेदीमा खहरे तर्न कठिन भएपछि उनको शवलाई स्काभेटरमा राखेर घाटसम्म पु¥याइएको निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुबिर विश्वकर्माले बताए। गाउँ फर्कने क्रममा युवाकी श्रीमतीले माइती घर रहेको खुंगास्थित छोरेगाउँ माविको क्वारेन्टाइन लगेकी थिइन्। क्वारेन्टाइनमा बस्दाबस्दै उनको मृत्यु भएको हो।

शनिबार राति मृत्यु भएका ती युवाको आइतबार बेलुकी मात्रै अन्तिम संस्कार गरिएको छ। ती युवा बागलुङ जिल्लामा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति हुन्। लकडाउनअघि नै भारतमा उपचारका लागि गए पनि धेरै पैसा खर्चँदासमेत उनको उपचार सफल नभएपछि उनीहरु फर्केका थिए। 

आर्थिक अवस्था पनि कमजोर भएपछि उनीहरु फर्कन बाध्य भएका थिए। निको हुने सम्भावना कम भैसकेपछि घरमै पुगेर मर्नेसम्मको उनीहरुको इच्छाअनुसार फर्केकोले गाउँकै क्वारेन्टाइन लगिएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसेले बताए।

मृतकको घरका ५ मध्ये तीन जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बताइएको छ। आइतबार दिउँसो पोखरामा भएको परीक्षणमाउनको स्वाब रिपोर्ट पोजेटिभ आएको थियो। 

उनका अर्का एक छोराको भने स्पष्ट नभएपछि फेरि स्वाब संकलन गर्ने बताइएको छ। मृत्यु भएका युवा आएको समयमा छिमेकी अन्य युवा पनि फर्केका थिए। मृतकको परिवारले आग्रह गरेपछि ५ जनाको समूहलाई खुंगा पठाइएको थियो। अरु युवा भने ढोरपाटन नगरपालिकाले तोकेको क्वारेन्टाइनमै बसेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.