कामै नभएको योजनाको चेक तयारी

|

मुगु : जिल्लाको उत्तरी सोरु गाउँपालिकामा कोरोना राहत कोषको रकम हिनामिना गरेको भन्दै पालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध प्रशासनमा उजुरी दिएका छन्।
  

कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको भन्दै पालिका प्रमुख शाहीले कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मुगुमा आइतबार उजुरी दिएका हुन्।

कोरोना महामारी नियन्त्रणका लागि गाउँपालिकामा गठन भएको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा प्रदेशबाट १५ लाख, गाउँपालिकाबाट ७५ लाख, छायानाथ सहकारीबाट ५० हजार, किर्डाक शाखाबाट ३ लाख तथा  अन्य निकायको सहयोगसहित १ करोडभन्दा बढी रकम जम्मा भएको थियो। अरु रकम विभिन्न शीर्षकमा खर्च भए पनि कोषमा बचेको १९ लाख रुपैयाँ प्रमुख प्रशासकीय अधिकृत र लेखापालले गोप्य रुपमा झिकेर हिनामिना गरेको प्रमुख शाहीको आरोप छ।  

दुबै जनासँग सोधपुछ गर्दा आलटाल गर्न थालेपछि बाध्य भएर उजुरी दिनुपर्ने अवस्था आएको शाहीले बताए। 

कामै नभएको योजनाको चेक तयारी

प्रमुख प्रशासकीय अधिकृत र लेखापालले सोरु गाउँपालिका–८ तारापानी–नुवाकोट–रुम सडक खण्डको कुनै काम नै नगरी उपप्रमुख राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेको र उक्त चेक आफूले जफत गरी प्रशासनमा पेस गरेको प्रमुख शाहीले बताए। 

उक्त सडक निर्माणका लागि गाउँपालिकाले ०७६÷०७७ मा १५ लाख बजेट विनियोजन गरेको थियो। उपप्रमुख बमले ४ लाख अग्रिम पेस्की लिएको सोही रकम अनुसारको काम नै नगरी बाँकी ९ लाख २१ हजार भुक्तानी लिन खोज्दा चेक जफत गरेको उनले बताए। 

रक्सी खान पनि पालिकाको अर्डर स्लिप

सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धान्य बुढाले रक्सी र मासु खानसमेत पालिकाको अर्डर स्लिप प्रयोग गर्ने गरेको पाइएको छ।

प्राप्त अर्डर स्लिपमा पालिकाको छाप र प्रमुख प्रशासकीय अधिकृत बुढाको दस्तखत छ। अधिकृत बुढाले आफूले रक्सी खान अर्डर स्लिप प्रयोग गरेको प्रस्ट देखिन्छ। अर्डर स्लिपमा बुढाले २५ वटा रक्सीका बोतल, १ दर्जन चम्चा, ३ वटा कचौरा र १ वटा मासुको लहरा(सुकुटी) अर्डर गरेका छन्।

भ्रमण भत्ता पनि मनोमानी लिएको आरोप

प्रमुख प्रशासकीय अधिकृत बुढाले अध्यक्ष शाहीको आदेश स्विकृतबिनै भ्रमण आदेश एक पटकमा ६० हजार र अर्को पटक ७० हजार रकम लिइएको पाइएको छ। बुढाले लिएको भ्रमण भत्ता बापतको उक्त रकम पनि नियमविपरीत रहेको अध्यक्ष शाहीले बताए। 

प्रशासनमा सोरुका दर्जनौं उजुरी, सुनुवाइ शून्य

सोरु गाउँपालिकामा भएका अनियमिततासम्बन्धी आधा दर्जन उजुरी प्रशासन कार्यालयमा दर्ता भए पनि अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि नबढ्दा गल्ती गर्ने व्यक्ति, समूहको मनोबल बढेको बुझिएको छ। कोरोना राहतका १९ लाख रकम कुनै अनियमित नभएको बजेट नपुग्दा वडा कार्यालयबाट माग गरिएको बिलअनुसार भुक्तानी दिनै बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए।

गिलाह–तारापानी सडकको अघिल्लो वर्षकै भुक्तानी दिन बाँकी रहेको हुँदा चेक तयार गरिएको र उक्त चेक प्रमुखले थुतेर लिएको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध पालिका प्रमुखले दिएको उजुरीमाथि छानबिन अघि बढाउने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए। 

पालिकामा अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित छन् भने उपाध्यक्ष तत्कालीन नेकपा एमालेबाट निर्वाचित छन्। ​गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नेकपा समर्थक भएकाले उपाध्यक्ष र अधिकृतको मिलेमतोमा अध्यक्षलाई जानकारी नै नदिई पालिकामा काम हुने गरेको अध्यक्ष शाहीले आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.