लेखक भन्छन् : संवैधानिक परिषद्‍बारे चर्चा भएको हो

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको नजिक रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सामिप्यता बढाएका छन्।

केही दिनअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा बोलाएर गोप्य वार्ता गरेको सन्दर्भ यतिबेला चर्चामा आएको छ। नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली र देउवाको भेटले नेपाली राजनीतिक वृत्तमा अनेक शंका उत्पन्‍न भएका छन्।

ओलीले पार्टी फुटाएर कांग्रेससँग गठबन्धन सरकार गठन गर्ने तयारी गरेको चर्चासमेत राजनीतिक वृत्तमा चलेको छ। यही पृष्ठभूमिमा आइतबार बिहान प्रधानमन्त्री ओलीको दूतका रुपमा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ देउवालाई भेट्न बूढानीलकण्ठ पुगेपछि अर्थपूर्ण रुपमा हेरिएको छ।

देउवाले ओली र नेम्वाङलाई भेटेको विषयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेलसहितले मुद्दा बनाएपछि पार्टीमा जवाफ नै दिनुपरेको छ। देउवाले आफूकहाँ ओली मात्रै नभएर प्रचण्ड र नेपालका नेताहरु पनि धाइरहेको खुलासा गरेका छन्। 

तर, नेता नेम्वाङले ठेउवासँगको भेटमा बाहिर चर्चामा आएजस्तो कुनै कुरा नभएको प्रष्टिकरण दिएका छन्। थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘मैले बूढानीलकण्ठ गएर भेटवार्ता गरेको कुरालाई संचार माध्यममा गृह मन्त्रालय र अर्थ मन्त्रालय प्रतिपक्षलाई दिने भनेर प्रकाशनमा आएको छ। यो सबै झुट हो।’

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तपाई देउवालाई कहाँ सत्ता समीकरणका लागि प्रस्ताव गर्न गएको टिकाटिप्पणीहरु हुन थालेका छन् यसबारे के भन्नुहुन्छ? भन्ने हाम्रो जिज्ञासामा उनले भने, 'सर्वप्रथम त लोकतन्त्रमा टिप्पणी गर्न पाइन्छ। तर मेरो आग्रह के हो भने, त्यो ठोस् आधारमा टेकेर गर्दा मात्र लोकतन्त्रलाई फाइदा हुन्छ। दोस्रो कुरा, अहिले कोरोनाले देश आक्रान्त भइरहेका बेलामा हाम्रो छिमेकी भारतसँग नक्सा प्रकाशन र संविधान संशोधनजस्ता प्रसङ्गले जुन सम्बन्ध हो त्यसमा केही जटिलता सिर्जना भएको अवस्थामा विभिन्‍न विषयमा  हामी छलफलमा रहेका बेलामा प्रतिपक्षलाई वार्ता र संवादमा राख्नु स्वभाविक हो। उहाँहरुले पनि सबैकुरा सुन्नुभयो र शुभकामना पनि दिनुभयो। यो भनेको निरन्तर प्रतिपक्षसँग सत्तापक्षले गर्ने सामान्य व्यवहार हो। त्यसैले यो उपर्युक्त छ भन्‍ने मेरो आग्रह छ। 

सत्ताबारे कुरा भएन : लेखक

नेम्वाङले जस्तै कांग्रेसका केन्द्रीय समिति सदस्य रमेश लेखकले पनि नेम्वाङ र देउवा बीच सत्ता साझेदारीका विषयमा कुरा भएको जानकारी आफूलाई नभएको बताए। थाहाखबरसँग कुरा गर्दै उनले भने, 'सभापतिजीसँग मेरो कुरा भए अनुसार नेम्वाङजीसँग भएको छलफल पार्टीभित्रको विवाद र झगडासँग सम्बन्धित इस्यु होइन, 'पार्लियामेन्ट रिलेटेड इस्यु'मा कुरा भएको हो। 

प्रधानमन्त्री र देउवाबीच १८ गते भएको गोप्य वार्तामा चाहिँ के कुरा भएको रहेछ ? भन्ने हाम्रो प्रश्नमा उनले भने, 'संवैधानिक परिषद्को बैठक डाकेर आयोगहरूमा पदपूर्ति गर्नुपर्यो भन्ने कुरा भएको सभापतिजीले आफुलाई जानकारी दिनुभएको बताउनुभएको छ। त्यो भन्दा बाहेक पोलिटिकल कुरा नभएको सभापतिले भन्‍नु भएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.