|

डोल्पा : जिप व्यवसायीले डोल्पामा मनपरी रुपमा भाडा असुल्न थालेका छन्। डोल्पाभित्र सञ्चालन हुँदै आएका जिप व्यवसायीहरुले सदरमुकाम दुनै आवतजावत गर्ने यात्रुबाट आफू खुशी भाडा असुल्दै आएका छन्।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँपानीदेखि सदरमुकाम दुनैसम्म १४ किलोमिटर दूरीमा जिप भाडा ८०० रुपैयाँ लिने गरेको यात्रुहरुको गुनसो छ। ‘दुनै आउनजान गरेर भाडामात्रै १६ सय तिर्नुपर्ने बाध्यता छ,’ त्रिपुरासुन्दरी–१ का भरुन सार्कीले भने, ‘अरु खाना खाजा जोडेर तीन हजार नै खर्चहुन्छ।’

आर्थिक मसान्तमा विकास योजनाको भुक्तानी, उपचारका लागि जिल्ला अस्पताल आउनेहरु लकडाउनको अवधिमा भए पनि ओहोर दोहोर गर्दै आएका छन्। व्यवसायीले दुनै–सुँपानी, सुँपानी–दुनै, दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जिप सञ्चालन गर्दै आएका छन्। 

नियम उल्लंघन

जिल्ला प्रशासन कार्यालय डोल्पाले कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यान दिँदै जिपमा पनि सामाजिक दूरी कायम गर्दै तीनजनासम्म यात्रु बोक्न पाउने व्यवस्था गरेको छ। तर, यातायात व्यवसायीले प्रशासनको नियमलाई उल्लंघन गर्दै छजनासम्म यात्रु ओसार्दै आएका छन्।

सामान्य अवस्थामा जस्तै छजनासम्म यात्रु बोके पनि लकडाउनको कारण देखाउँदै भाडा भने प्रतिव्यक्ति ८०० रुपैयाँ लिने गरेको दुनै आउँदै गरेका यात्रु रमेश परियारले गुनासो गरे। लकडाउनअघि एउटा जिपले छजना यात्रु बोक्न पाउने र प्रतिव्यक्ति भाडा ३५० रुपैयाँ कायम गरिएको थियो।

ट्राफिक प्रहरी हैरान

डोल्पाका जिप चालकहरुको व्यवहारले ट्राफिक प्रहरी पनि हैरान भएका छन्। उनीहरुले नियमविपरीत आफू खुशी जिप सञ्चालन गर्ने र कारवाही गरे आइलाग्न थालेपछि ट्राफिक प्रहरीलाई नियमन गर्न हम्मेहम्मे भएको हो।

यस क्षेत्रमा निजी सवारी साधानले पनि यात्रु बोक्ने गरेको एक ट्राफिक प्रहरील्े बताए । गलत गर्ने चालक र गाडीलाई कारवाही गर्न खोज्दा जनप्रतिनिधिहरुलाई फोन गर्न लगाएर दबाव दिने गरेकोे उनको गुनासो छ।

यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले महँगो गाडी भाडाबारे छलफल गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.