|

वैज्ञानिकहरुले हावाका कणमा पनि कोरोना भाइरस रहेको र त्यसबाट मानिस संक्रमित भइरहेको बताएका छन्। 

हावामा कोरोनाको जीवाणु रहेको प्रमाण वैज्ञानिकहरुले प्राप्त गरेको समाचार न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ। महामारीको जीवाणु हावामै रहेको पुष्टि भएकाले वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई महामारीसँग सम्बन्धित निर्देशन र सतर्कता विधि बदल्न आग्रह गरेका छन्। 

वैज्ञानिकहरुले यसबारे जानकारी लिन र गम्भीर हुन डब्ल्यूएचओलाई पत्र नै लेखेका छन्। यो पत्र आगामी साता साइन्स जर्नलमा प्रकाशित गर्ने भनिएको छ। 

३२ देशका २३९ जना वैज्ञानिकहरुले हावामा कोरोना भाइरसको कण रहे/नरहेको बारे अनुसन्धान गरेका थिए। उनीहरुले हावामा पनि साना साना कणका रुपमा कोरोना भाइरस रहेको पत्ता लगाएका छन्। 

यसअघि ढल प्रणालीमा पनि कोरोना भाइरसका जिवाणु फैलिएको पत्ता लागेको थियो। हावाका कणमा पनि कोरोनाका जिवाणु पत्ता लागेपछि वैज्ञानिकहरुले यस भाइरसलाई 'एअरवोर्न' अर्थात वायु प्रवाहित भनेका छन्। 

डब्ल्यूएचओले अहिलेसम्म यो भाइरस मानिसले हाच्छ्यूँ गर्दा एकबाट दोस्रो व्यक्तिमा फैलने गरेको बताइरहेको छ। थुक, र्‍याल र सिँगानका छिटाहरुबाट यो भाइरस फैलने सम्भावना धेरै रहन्छ। 

संक्रमितले हाच्छ्यूँ गर्दा निस्किएको 'ड्रपलेट' हावामा फैलिने र अरु स्वस्थ मानिसमा पनि संक्रमण हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्। तर डब्ल्यूएचओले वैज्ञानिकहरुले दिएको प्रमाण पर्याप्त नभएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.