एकता जोगाउन दोस्रो-तेस्रो तहका नेता दबाब बढाउँदै

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठकको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। पार्टीभित्रको आन्तरिक कलहले पार्टी विभाजनको सँघारसम्म पुगेपछि केन्द्रीय कमिटीको बैठकका लागि हस्ताक्षर अभियान सुरु भएको हो।

नेकपाको केन्द्रीय सदस्यहरु ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्री, विजय पौडेल, जगन्‍नाथ खतिवडालगायत नेताहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन्। शीर्ष नेताहरुको शक्ति संघर्षका कारण पार्टी एकता जोखिममा परेको भन्दै उनीहरुले केन्द्रीय कमिटी बोलाउन हस्ताक्षर अभियान सञ्चालन गरेका हुन्।

आइतबार ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेका छन्। आज पनि हस्ताक्षर अभियान जारी रहको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन्।  

पार्टीको विधानअनुसार २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरे केन्द्रीय समिति बैठक बोलाउनुपर्ने उल्लेख छ। यही संख्या पुर्‍याउन केन्द्रीय सदस्यहरु लागेका छन्। पार्टीको विधानअनुसार ६/६ महिना केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ। 

तर, पार्टी एकता भएयता दुई वर्षमा एकपटक मात्र गत माघमा मात्र बैठक बसेको थियो। पार्टीभित्रको विवाद बढ्दै गएपछि असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक समेत आज तेस्रो पटक स्थगित भइसकेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति संघर्षको कारणले पार्टीभित्रको विवाद चुलिएको छ। विवादमा अध्यक्ष दाहाललाई नेता नेपालले सघाएका छन्। त्यसैले प्रधानमन्त्री ओली अल्पमतमा छन्।

अध्यक्ष दाहाल, नेता नेपाल झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायतका सचिवालयका ६ सहित ३० स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्। तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा दिने पक्षमा छैनन्। 

विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आज पनि वार्ता भएको थियोे। आजको वार्ता पनि निष्कर्षविहीन बन्‍न पुगेको छ। आइतबार पनि ओली पक्षका महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा दाहाल पक्षका जनार्दन शर्मा र वर्षमान पुनको सहभागितामा वार्ता बसेको थियो। तर, बैठक सकारात्मक भएको बताएपनि सहमति जुट्न सकेको छैन। 

विवाद समाधानका लागि दोस्रो तहका वार्तामा सहभागी ४ नेतालाई जिम्मा दिइएको छ। उनीहरु मध्यमार्गी बाटो भएर पाटीभित्रको विवाद समाधान गर्नका जुटेका छन्। पार्टीभित्रको विवादलाई लिएर अध्यक्षद्वयले सहमतिको प्रयासमा जुटिरहेका भइरहेको छ। अध्यक्ष दाहाल २०७५ जेठ २ गते सहमतिमा अघि बढ्न चाहन्छन्। 

तर, प्रधानमन्त्री ओली २०७६ मंसिरमा भएको सहमति अनुसार अघि बढ्ने पक्षमा छन्। पार्टीभित्र शीर्ष नेताको शक्ति संघर्षका कारण पार्टी विभाजनको अवस्थामा पुगेपछि दोस्रो र तेस्रो तहका नेताहरु पार्टी एकता जोगाउन लागि परेका छन्। 

शुक्रबार बिहान कृषिमन्त्री घनश्याम भुसालको निवासमा बसेको भेलाले नेतृत्वलाई पार्टी एकताको जगलाई टेकेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएको थियो। पार्टीलाई विभाजन हुनबाट रोक्न भन्दै नेकपा केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालयमा धर्ना कार्यक्रम समेत राखेका थिए।  

यस्तै, शनिबार महिला बालबालिका समाजकल्याण तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको संयोजन ७ वटा प्रदेशमा एकताका लागि दबाव बढाउने अभियान चलाउने निर्णय भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.