|

काठमाडाैं : भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ। आगामी तिहारसम्म खुला गर्ने योजनाका साथ पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

पोखरीको पिँधमा कालो माटो र इँटा ओच्छ्याउने काम सकिएको छ। पोखरीभित्र पानी रहने भागको पर्खाल निर्माणको काम पनि सकिएको छ। २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालको काम गरेको हो। 

पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओच्छ्याइएको छ। २०७७ वैशाख १२ गतेअघि नै काम सक्ने गरी सुरु भए पनि लक डाउनका कारण केही प्रभावित भएको छ। 

पानी रहने पर्खाल र पिँधको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ। पुनर्निर्माण प्राधिकरणको तर्फबाट रानीपोखरी र धरहरा हेरिरहेका सम्पदा विज्ञ राजुमान मानन्धरले पुनर्निर्माणको काम सम्पन्न हुने करिब ३ महिना लाग्ने जानकारी दिए। 

पोखरीको काम सकिए पनि धेरै मिहिनेत गरेर गर्नुपर्ने काम बाँकी भएकाले केही समय लाग्ने उनले बताए। उपभोक्ता समितिमार्फत भएको काम सम्पन्न भएको र ठेक्कापट्टाबाट गरिएको बाल गोपालेश्वर मन्दिर निर्माण, पुलको काम भइरहेको उनले जनाए। 

रानीपोखरीको बीचमा रहेको बाल गोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यीकरणको काम अहिले भइरहेको छ। सौन्दर्यीकरण, बिजुली र मन्दिर निर्माणको ३५ प्रतिशत काम बाँकी रहेको उनले जनाए। मन्दिरको दोस्रो तला सम्पन्न हुने अवस्थामा रहेको मानन्धरको भनाइ छ।

पोखरीमा आकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने प्राधिकरणले व्यवस्था गरेको छ। सुरुमा पिँध निर्माणका लागि भक्तपुरबाट कालिगड ल्याइए पनि सीप हस्तान्तरण गरी काठमाडौंका कालिगडसमेत अहिले निर्माण कार्यमा सहभागी छन्। लकडाउन केही खुकुलो भएसँगै अहिले कामदार मन्दिर बनाउन व्यस्त छन्। 

रानीपोखरीमा पानी अड्याउन महानगरपालिकाले पिँधमा कंक्रिट ढलान गरेपछि त्यसको विरोध भएको थियो अहिले पानी अड्याउन परम्परागत तरिका–कालो माटोको तह र पुरानो इँटा बिच्छ्याइएको छ। शिलान्यास भएको ३ वर्षसम्म अलपत्र रहेको रानीपोखरी निर्माणको काम अहिले पुनर्निर्माण प्राधिकरणमार्फत उपभोक्ता समितिले बनाइरहेको छ।

विनाशकारी भूकम्पले क्षति पु¥याएको रानीपोखरी निर्माणका लागि काठमाडौं महानगरले जिम्मा पाए पनि पोखरीभित्रको मन्दिरलाई कुन शैलीमा बनाउने भन्ने विषयमा विवाद भएपछि लामो समय काम रोकिएको थियो। अहिले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको निर्माण भइरहेको छ।

पर्खालको जगमा चुना सुर्की लगाएर परम्परागत शैलीलाई कामय राखिएको छ। विसं १९९० मा आएको भूकम्पपछि क्षति पुगेको रानीपोखरी जुद्ध शमशेरले गुम्बज शैलीमा निर्माण गरेका थिए। 

लामो समय कुन शैलीमा बनाउने भन्ने विवाद रहे पनि प्राधिकरणले विज्ञ समूह गठन गरेर मौलिक शैलीमै निर्माण गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.