|

दाङ : जिल्लामा बनेका अधिकांश क्वारेन्टाइनहरु खाली हुँदै जान थालेका छन्। आइतबारसम्म जिल्लाका ९ वटा स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा ५ सय ५२ जना मात्र बाँकी रहेका स्वास्थ्य कार्यालय दाङले जनाएको छ। जिल्लामा १० स्थानीय तह छन्। 

त्यसैगरी  बंगलाचुली गाउँपालिकाका ३० वटा क्वारेन्टाइन खाली भएका छन्। जिल्लामा हालसम्म ११ हजार ८ सय १९ जना क्वारेन्टाइनमा बसेका थिए। तीमध्ये ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

जिल्लाका १० स्थानीय तहले १० हजार २ सय ९० बेडको क्वारेन्टाइन स्थापना गरेका थिए। घोराही उपमहानगरको ९१ वटा क्वारेन्टाइनमध्ये ४१ वटा क्वारेन्टाइन खालि भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए।

अहिले घोराहीका विभिन्न क्वारेन्टाइनमा ३ सय ३३ जना मात्र रहेका उनले बताए। त्यसैगरी हालसम्म उपमहानगरमा २ हजार ३ सय ७५ जना व्यक्तिहरु भारत तथा तेस्रो मुलुकबाट आएका समेत प्रमुख घर्तीले बताए। अहिलेसम्म घोराहीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत २ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये ३५ जना निको भएका छन्। 

त्यसैगरी तुलसीपुर उपमहानगरले स्थापना गरेको १० वटा क्वारेन्टाइनमध्ये ४ खाली भएको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए। हालसम्म ६ वटा क्वारेन्टाइनमा २ सय ८ जना १०÷१२ दिनदेखि बस्दै आएको समेत उनले बताए।

तुलसीपुरमा जनप्रतिनिधिसमेत तरी ४७ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ। उता शान्तिनगर गाउँपालिकामाा आजसम्म ३५ जना क्वारेन्टाइनमा रहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख हरि पुनले जानकारी दिए।गाउँपालिकामा ५ वटा क्वारेन्टाइनमध्ये २ वटा खालि भएको उनले बताए। 

त्यसैगरी बबई गाउँपालिकाले स्थापना गरेको ४ वटा क्वारेन्टाइनमध्ये ३ वटा खालि भएको र अहिले १ वटा संचालनमा रहेको साथै त्यसमा ३६ जना रहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख हरिबहादुर खड्काले जानकारी दिए। अहिले पनि गाउँपालिकामा भारत तथा तेस्रो मुलकबाट आउने क्रम रहेको उनले बताए। हालसम्म गाउँपालिकामा २ हजारभन्दा बढी व्यक्ति आएका र तीमध्ये १४ जनामा कोरोना संक्रमण पाइएको थियो। हाल ४ जना निको भएर घर फर्किएका छन्। 

त्यस्तै बंगलाचुली गाउँपालिकामा ८१ जना कोरोना पुष्टि भएकाहरु रहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख भक्त बहादुर जिसीले जानकारी  दिए। ७ जना कोरोना विशेष अस्पताल र अन्य आइसोलेसनमा रहेका समेत उनले बताए। गाउँपालिकामा १ सय ६१ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। तर २ जना बाहिरी जिल्लाका र अन्य गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत १ सय ५९ जनामा कोरोना पुष्टि भएको प्रमुख जिसीले जिसीले बताए। 

साथै कोरोना संक्रमितमध्ये ८१ जना निको भएर घर गएका उनले बताए। त्यसैगरी दंगीशरण गाउँपालिकामा पनि १ वटा क्वारेन्टाइन खालि भएको स्वास्थ्य प्रमुख दशरथ गिरीले जानकारी दिए।  

गाउँपालिकाले २ वटा क्वारेन्टाइन स्थापना गरेको थियो।  अहिले ११ जना क्वारेन्टाइनमा बसेको उनले बताए। त्यसैगरी गाउँपालिकामा हालसम्म विदेश तथा भारत र नेपालका विभिन्न ठाउँबाट गरी ३ सय १९ जना आएका र तीमध्ये ३ जनामा कोरोना पुष्टि भएको प्रमुख गिरीले बताए।

प्रतिष्ठानमा स्वाब परीक्षण नहुँदा संकलनमा समस्या

केही दिन अघिदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुल्क ५ हजार ५ सय लाग्ने भन्दै स्वाब परीक्षण नगरी फिर्ता पठाएको थियो।  अहिले प्रतिष्ठानमा स्वाब परीक्षण नहुँदा यहाँका स्थानीय तहले नेपालगन्ज पठाएका थिए।

तुलसीपुर, शान्तिनगर र बबई गाउँपालिकाको गरी २ सय ६८ स्वाब पठाएको थियो। तर उता धेरै ठाउँबाट स्वाब ल्याउँदा समय लाग्ने जानकारी आएको तुलसीपुर उपमहानगरका फोकल पर्सन विमल केसीले बताए। 

‘हामीले प्रतिष्ठानबाट फिर्ता आएको स्वाब नेपालगञ्ज भेरी अस्पतालमा पठाएको छौँ,’ उनले भने ,‘तर त्यहाँ विभिन्न जिल्लाबाट पनि स्वाब परीक्षणका लागि आउँदो  रहेछ।  त्यसैले अहिले क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन गरेका छैनौँ।’ अहिले क्वारेन्टाइनमा १०/१२ दिनदेखि मानिसहरु बस्दै आएका समेत उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.