|

काठमाडौं : एक व्यक्तिले अबदेखि आफ्नो नाममा २ भन्दा बढी सिमकार्ड निकाल्न नपाउने भएका छन्। सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो।

प्राधिकरणको असार १३ गते बसेको बोर्ड बैठकले कुनै एक प्रयोगकर्तालाई सम्बन्धितको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो। प्राधिकरणको उक्त निर्देशन सेवा प्रदायक कम्पनीलाई जानकारी गराईसकिएको निर्देशक विजय रोयले जानकारी दिए।

एकै व्यक्तिले जति पनि सिमकार्ड लिन पाउने विद्यमान व्यवस्थाका कारण भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी), जसलाई अवैध कल मानिन्छ। जस्ता गतिविधि नरोकिएको र यसले गर्दा सेवा प्रदायकले नै ठूलो रकम गुमाउनुपरेको प्राधिकरणले जनाएको छ।

त्यस्तै बैङ्क तथा वित्तीय संस्थामा फोन नम्बरको दुरुपयोग हुन सक्ने र एक व्यक्तिको सिमकार्ड अरूले प्रयोग गर्दा आउन सक्ने समस्यालाई ख्याल गरेर यस्तो निर्णय भएको रोयले जानकारी दिए।  


अहिले एक व्यक्तिले कुनै एक दूरसञ्चार सेवा प्रदायकको दुईभन्दा बढी सिमकार्ड लिएको भएमा त्यसबारे जानकारी गराउनुपर्ने जिम्मेवारी पनि सेवा प्रदायकको नै रहने प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले यसरी २ भन्दा बढी सिमकार्ड लिएका व्यक्तिलाई एसएमएसमार्फत जानकारी गराउनुपर्ने र सम्भव भएसम्म दुईवटामा मात्र सीमित गराउन अनुरोध गर्नुपर्ने निर्देशन सेवा प्रदायकलाई दिएको हो। 

प्राधिकरणको निर्णयअनुसार नेपाल टेलिकमले सीडीएमए सेवासमेत उपलब्ध गराइरहेकाले एक व्यक्तिको नाममा ३ वटा सम्म सिमकार्ड जारी गर्नसक्ने सुविधा दिएको छ। एनसेल र स्मार्टले भने दुईवटा सिमकार्ड मात्र जारी गर्नसक्ने छन्।

प्राधिकरणको उक्त बोर्ड बैठकले अबदेखि नाबालकका नाममा पनि सिमकार्ड लिन पाउने बाटो खुला गरेको छ। अहिले नागरिकता भएका व्यक्तिले मात्र सिमकार्ड लिनसक्ने प्रावधान रहेकामा अभिभावकको नाता प्रमाणका आधारमा नाबालकले पनि सिमकार्ड लिन पाउने व्यवस्था गरेको हो भन्ने खबर गोरखापत्र दैनिकमा छ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म जीएसएमतर्फ तीन करोड ६१ लख ७२ हजार र सीडीएमएतर्फ १६ लाख ८२ हजार गरी तीन करोड ७८ लाख ५४ हजार सिमकार्ड जारी भएका छन्। नेपालको जनसङ्ख्या हालै मात्र तीन करोड पुगेको अवस्थामा सिमकार्ड भने जनसङ्ख्याभन्दा थप ७८ लाख बढी जारी भएको देखिन्छ।

एकै व्यक्तिले जति पनि सिमकार्ड लिनसक्ने व्यवस्थाका कारण जनसङ्ख्याभन्दा बढी सिमकार्ड जारी भएको देखिएको हो। ​ सिमकार्डकै आधारमा दूरसञ्चार पहुँच गणना गर्ने व्यवस्थाका कारण जनसङ्ख्याभन्दा बढीमा दूरसञ्चारको पहुँच देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.