|

काठमाडौं :  सरकारले नयाँ खेलकुद विकास ऐन लागु गरेसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्त रहेको सदस्यसचिवको पदमा खेलकुद मन्त्रालयले कार्यवाहक सदस्य सचिवको जिम्मेवारी भक्त बहादुर ढकाललाई दिएको छ।

युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । २१ असारको मन्त्रिस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो। उनी मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुख हुन्।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्य–सचिवले गर्ने काम काज उनले समाल्ने छन्। ढकालले प्रशासनिक काममा अवरोध नहोस भन्नका लागि मन्त्रालयले निर्णय गरेको जानकारी दिए। मन्त्रालयले ऐन कार्यान्वयन को सुरुवात गरेको भन्दै उनले दैनिक कार्यहरु संचालनका लागि मन्त्रालयले खेलकुद विभाग महाशाखा प्रमुखको हैसियतमा जिम्मेवारी दिएको उनले बताए। ढकालले भने ’राखेपको दैनिक प्रशासनिक कार्यमा अवरोध नहोस् र काम नियमित होस् भनेर सदस्य सचिवको पूर्णता नहुन्जेल सम्म मैले जिम्मेवारी निभाउने छु ।’ उनले भने 

५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए । राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्य–सचिव ढकाललाई बधाई दिए । नयाँ खेलकुद विकास ऐन गत बिहिबारबाट लागू भएसँगै राखेपको सदस्य सचिव पद रिक्त अबस्थामा पुगेको थियो।

खेलकुद विकास ऐन २०४८ निश्कृय भएसँगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको मन्त्रालयले स्पष्ट पारेको थियो।

नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ।

समितिले योग्यता पुरा भएका व्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिलासहित तीन जना उपयुक्त ब्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ। समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषद्मा पेश हुने उल्लेख छ । मन्त्रीपरिषद्ले उपयुक्त ठानेको व्यक्तिलाई चार बर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.