|

कञ्चनपुर : संसद्‌को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फडानीबारे  कञ्चनपुरमा आजदेखि छानबिन सुरु गरेको छ।

वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न महेन्द्रनगर पुगेका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबारबाट छानबिन थालेको हो।

समितिले वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न सोमबार बिहान सरोकारवालासँग छलफल गरेको थियो। कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन लागि सामुदायिक वन उपभोक्ता समितिले गरेका क्रियाकलापबारे छलफल गरिएको छ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको व्यापक विरोध भएपछि वनको अवस्थाबारे बुझ्न कञ्चनपुर आएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य शान्ता चौधरीले बताइन्। ‘वैज्ञानिक वन व्यवस्थापनको विषयमा धेरै विवाद आयो,’ उनले भनिन्, ‘त्यसैले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम ठीक छन्‌ या छैनन्‌ भनी बुझ्नका लागि अनुगमन गरिरहेका छौं।’ वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका तराईका जिल्लामा रहेका सामुदायिक वनको अध्ययन-अनुगमन गरी प्रतिवेदन तयार पार्ने र सरकारलाई बुझाउने उनले जानकारी दिइन्।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका सामुदायिक वनका पदाधिकारीले आर्थिक अनियमितता गर्ने, बुढा रुख राख्ने र साना रुख काट्ने तथा रुख कटानमा जोड दिने गरेको, तर वन संरक्षणमा जोड नदिएको लगायतका गुनासा उपभोक्ताको रहेको समितिका सदस्य चौधरीले बताइन्।

‘वनका प्राविधिकहरूले समेत वैज्ञानिक वन कार्यक्रम लागु भएका सामुदायिक वनका उपभोक्ताबाट भत्ता र खाना खर्च माग्ने गरेको समेत गुनासो आएको छ,’ उनले भनिन्, ‘यी कुरा यर्थाथ हुन या होइनन् भनी बुझ्नका लागि हाम्रो टोली यहाँ आएको हो।’

वैज्ञानिक वन व्यवस्थापनबारे यर्थाथ कुरा बुझी प्रतिवेदन बनाएर सरकारलाई बुझाइने र सोहीअनुसार सरकारले यससम्बन्धी नीति बनाउने संसदीय टोलीका सदस्यहरूले जानकारी दिएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.