|

भद्रपुर : झापा प्रहरीले मास्क नलगाई घर बाहिर निस्कनेहरूलाई समातेर सडकमै कारबाही गर्न थालेको छ।  

मास्क नलाई घर बाहिर निस्कनेहरूलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय झापामा मङ्गलबार बसेको बैठकले प्रहरीसहित सबै स्थानीय तह, सरकारी कार्यालय, गैरसरकारी कार्यालय, उद्योग वाणिज्य सङ्घहरू तथा सम्पूर्ण सेवा प्रदायक निकायहरूलाई गृहको निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए। 

गृहसहित प्रशासन कार्यालय झापाको निर्देशन बमोजिम नै नेपाल प्रहरीले जिल्लाभरि सो निर्णय कार्यान्वयन गराउँदै मास्क नलगाई सडकमा हिँड्नेलाई समातेर कारबाही गर्न थालिसकेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।  मङ्गलबार पहिलो दिन भएकाले सम्झाउने तथा मास्क लगाउन अनुरोध गरिएको एसपी कोइरालाले बताए। 

उनका अनुसार आज पहिलो दिन बिर्तामोडमा मास्क नलगाई हिँडेका दुई सयभन्दा बढीलाई २० मिनेट होल्ड गरेर सम्झाउने काम गर्नुका साथै मास्क वितरण गरिएको छ। बुधबारदेखि यदि मास्क नलाई घर बाहिर निस्किएको पाए जो कोहीलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने उनले बताए। 

गृहको निर्णय कार्यान्वयन गराउन जिल्ला मातहतका सम्पूर्ण प्रहरी इञ्जार्चहरुलाई निर्देशन दिइसकेको उनको भनाइ छ। सोमबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। 

सरकारले लकडाउन जारी गरेको ३ महिना बितिसक्दा पनि कोरोना न्यूनीकरण तथा रोकथाम हुन सकेको छैन। सामाजिक दूरी कायम गर्दै आफ्नो दैनिकी सञ्चालन गर्न छुट सरकारले दिए पनि पनि पूर्ण रुपमा लकडाउन खोलेको छैन। पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र बजार तथा सडकमा मास्क नलाउनेहरू बढ्दै गएपछि गृह मन्त्रालयले कडा निर्देशन जारी गरेको हो। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.