|

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचार नपाएर मृत्यु भएका राजु सदाको मृत्युबारे अध्ययन गर्न निर्माण गरिएको संसदीय समितिको म्याद थप गरिएको छ।

मंगलबार बसेको प्रदेश २ प्रदेशसभा बैठकले अध्ययन गर्न बनेको संसदीय समितिको म्याद पाँच दिन थप गरेको सभामुख सरोजकुमार यादवले जानकारी दिए। समितिका संयोजक सांसद रवीन्द्र बैठाले अध्ययन गर्न थप समय लाग्ने भएकाले प्रदेशसभा बैठकमा म्याद थप्न आग्रह गरेका थिए। 

समिति असार १४ मा गठन भएको थियो। संयोजक बैठाले सदाको घर परिवारसँग जानकारी लिइएको र उनलाई राखिएको क्वारेन्टिनको स्थलगत अवलोकन गरिसकेको जानकारी बैठकमा गराएका छन्। उनले सरोकारबालासँग पनि छलफल गरिसकिएको बताए।

‘अहिले उनको मृत्युसम्बन्धी कागजातहरु प्रादेशिक अस्पतालबाट लिएर अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘पाँच दिनका लागि समय थप्न आग्रह गरेपछि प्रदेशसभाले म्याद थप गर्ने अनुमति दिएको छ।’ समितिले सुरुमा पाँच दिनको म्याद पाएको थियो।

धनुषाको हंसपुर नगरपालिकाका सदाको असार ९ मा प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा उपचार नपाएर छटपटिएर मृत्यु भएको थियो। यसअघि उनलाई गाउँकै क्वारेन्टाइन र प्रादेशिक अस्पतालको आइसोलेसनमा समेत राखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.