कारवाहीले अभिव्यक्ति स्वतन्त्रता खोसिएको जिकिर

|

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी सरिता गिरीको बचाउमा उत्रिएकी छन्।  भारतले अतिक्रमण गरेको भूमिसहितको नक्साविरूद्ध उभिएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले निष्काशन गरेपछि अन्सारी बचाउमा उत्रिएका हुन्। 

देशविरुद्ध नै अभिव्यक्ति दिएर नयाँ नक्साविरुद्ध संसदमा संशोधन प्रस्तावसमेत हालेकी गिरीले पार्टीले नक्साको पक्षमा उभिन जारी गरेको ह्विपसमेत उलंघन गरेकी थिइन्। नक्साविरुद्धको प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरिदिएपछि गिरीले संसद बैठक नै बहिष्कार गरेकी थिइन्। 

पार्टीको ह्विपसमेत नमानेर नक्साविरुद्धको प्रस्ताव पनि फिर्ता नलिएको गिरीलाई समाजवादी पार्टीले मंगलबार निष्काशन गरेपछि उनको सांसद पद पनि गएको छ। यस्तो अवस्थामा आयोगकी सदस्यले गिरीको अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको जिकिर गरेकी छन्। 

उनले गिरीलाई पार्टीबाट निष्काशन गरिनु खेदजनक रहेको तर्क उनले गरेकी छन्। 'माननीय सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निष्काशन र सांसदबाट निलम्बन हुने बिषय खेदजनक छ', उनले भनेकी छन्, 'संसदमा आफनो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरीत रहेकोले निर्णय फिर्ता लिन अनुरोध गर्दछु।'

अन्सारी यसअघि पनि विवादमा तानिँदै आएकी थिइन्। देश विखण्डन अभियान चलाएका सिके राउतको पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा वकालत गरेपछि उनी यसअघि पनि विवादमा तानिएकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.