|

इलाम : इलाममा बुधबार ६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। सूर्योदय नगरपालिका–७ कन्यामको क्वारेन्टाइनमा असार १३ गते संक्रमण पुष्टि भएका ५ जना र माई नगरपालिकाको क्वारेन्टाइनबाट उपचारका लागि लगिएका १ जनाले बुधबार कोरोना जितेका हुन्।

कन्याम क्वारेन्टाइनबाट पुष्टि भएका भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतिनगर क्वारेन्टाइनमा रहेका २७ वर्षीय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० वर्षीय र २८ वर्षीय पुरुष, इलाम नगरपालिका–८ का ४८ वर्षीय पुरुष, साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० वर्षीय पुरुषले कोरोना जितेको सूर्योदय नगरपालिका कोभिड–१९ फोकल पर्सन विपुल अधिकारीले बताए।

त्यसैगरी, भारतको गुजरातबाट आएका माई–३,बरपानीका २५ वर्षीय युवासमेत कोरोनाबाट मुक्त भएका छन्। बुधबार मुक्त हुने ६ जनासँगै इलाममा ८ जनाले कोरोनालाई जितेका छन्। यसअघि इलामको पहिलो र दोस्रो संक्रमित निको भएर फर्किएका थिए। इलाममा उपचारका लागि लगिएका ३ जनाले कोरोना जित्न बाँकी रहेका छन्।

असार १७ गते पुष्टि भएका कुवेतबाट आएका सूर्योदय नगरपालिकाका २ महिला र असार २० गते पुष्टि भएका देउमाई नगरपालिकाका २६ वर्षीय युवा उपचारमा छन्।

२ जना थपिए

त्यस्तै, इलाममा आज २ जना कोरोना संक्रमित फेला परेका छन्। वैदेशिक रोजगारबाट फर्किएका इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका युवामा कोरोनाको संक्रमण देखिएको हो।

मलेसियाबाट असार १५ गते नेपाल प्रवेश गरेका सन्दकपुर–५ र साउदी अरबबाट १६ गते आएका इलाम नगरपालिका–८ का २५ बर्षिय युवालाई कोरोना देखिएको स्वास्थ्य कार्यालय इलामका कोडिभ–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए।

उनीहरू दुवैजना नेपाल प्रवेश गरेको भोलिपल्टै जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेका थिए। असार २० गते स्वाब लिएर २१ गते परीक्षणका लागि पठाइएको थियो। दुवै जनालाई उपचारको लागि गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको बरालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.