|

बैतडी : बैतडीमा हलसम्म २ सय ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। जिल्लाका सबै स्थानीय तहमा गरेर हालसम्म २ सय ९५ जनामा पुष्टि भएकोमा २ सय ६५ डिस्चार्ज भएका हुन्। 

गत जेठ ९ गते कोरोना पुष्टि भएका पहिलो व्यक्ति जेठ २१ गते जिल्ला अस्पतालबाट डिस्चार्ज भएपछि हालसम्म उक्त संख्यामा डिस्चार्ज भइसकेका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।  डिस्चार्ज गरिनेमा अधिकांश कोरोना पुष्टि भएको १४ दिनसम्म पनि कुनै लक्षण नदेखिएका रहेका छन्।  उनीहरुलाई ७ दिन होम आइसोलेसनमा बस्ने शर्तसहित घर पठाइएको हो। 

रिपोर्ट ढिला भएपछि घर पठाइयो

आरडिटी पोजेटिभ आएपछि पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा रिपोर्ट नआउँदै घरसमेत पठाइएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए।  स्वाब संकलन गरेको १४ दिनसम्म रिपोर्ट नआएको र त्यपश्चात घर पठाइएको हो। रिपोर्ट पोजेटिभ आए पनि लक्षण कुनै नदेखिँदा आइसोलेसनमा नराखिएको नाथको भनाइ छ।

उनले भने, ‘कोरोना पुष्टि भए पनि भारतबाट फर्किएर १ महिनासम्म पनि क्वारेन्टाइनमा बस्दासमेत केही लक्षण नदेखिएपछि होम आइसोलेसनमा बस्ने सर्तसहित घरमा पठाइएको हो।’

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रमुख भट्टको भनाइ छ।

३० जना मात्रै आइसोलेसनमा

२ सय ९५ जना संक्रमितमध्ये हाल जिल्लाका विभिन्न स्थानीय तहका आइसोलेसन तथा क्वारेन्टाइनमा ३० जना मात्रै राखिएका छन्। 

जिल्लाको सबैभन्दा बढी कोरोना संक्रमित रहेको पञ्चेश्वरमा ६० जनामध्ये १६ जना मात्रै आइसोलेसनमा रहेका छन्।  यस्तै, शिवनाथका संक्रमित सबै  ४८, दोगडाकेदार गाउाँपालिका ४३  जना सबै, डिलासैनी गाउँपालिकाका ७ सबै र सुर्नया गाउँपालिकाका १४ जना संक्रमित सबै डिस्चार्ज भइसकेका छन्।

सिगास गाउँपालिकाका ४० संक्रमितमध्ये ४, दशरथचन्द नगरपालिकाका ३४ संक्रमितमध्ये ५, पाटनका १४ संक्रमितमध्ये २, मेलौली नगरपालिकाका २७ संक्रमितमध्ये २ र पुर्चौडी नगरपालिकाका ८ संक्रमितमध्ये १ जना मात्रै हाल आइसोलेसनमा रहेका छन्।

जिल्लामा पहिलोपटक गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो। जिल्लामा कोरोना संक्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.