|

संखुवासभा : भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने स्थानीय ठेकेदारलाई काम गरेबापतको रकम भुक्तानी दिएको छैन।

सतलजले अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माण जिम्मा पटेल इन्जिनियरिङ कम्पनी र ड्याम साइडको जिम्मा जयप्रकाश एसोसियटलाई दिइएको छ। यी कम्पनीले स्थानीय निर्माण व्यवसायीलाई पेटी ठेक्का दिएका छन्‌।

संखुवासभाको मकालु गाउँपालिकामा ड्याम साइड र चिचिला गाउँपालिकामा विद्युत् गृहको निर्माण धमाधम भइरहेको छ। तर आयोजनाको पेटी ठेक्का लिएका अधिकांश स्थानीय ठेकेदारले समयमा भुक्तानी नपाउँदा मारमा परेको गुनासो गरेका छन्। अरुण तेस्रो आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ।

अरुण तेस्रो आयोजनाका दुई कम्पनीहरुले पेटी ठेक्कामा स्थानीय ठेकेदारमार्फत पूर्वाधार निर्माण अघि बढाएको छ। तर समयमै रकम भुक्तानी नदिँदा नेपाली ठेकेदारहरू मारमा परेका हुन्। हालसम्म आयोजना निर्माणको ३० प्रतिशत काम सकिएको छ।

गत असरमै सडकको 'कज वे' निर्माण सके पनि हालसम्म पनि सम्झौता अनुसारको रकम पाउन नसकेको रौता कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि भीम थापा थापाले जानकारी दिए। रौताले १४ वटा 'कज वे' सहित सडक मर्मतको काम एक वर्ष पहिले नै सम्पन्न गरेको थियो। तर ९ वटा 'कज वे' निर्माण गरेको रकम हालसम्म जिम्मा पटेल इन्जिनियरिङ कम्पनीले भुक्तानी नगरेको थापाको भनाई छ।

पटेल कम्पनीले रौतालाई २ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको उनको भनाई छ। काम सम्पन्न भएको एक वर्ष पूरा हुँदा पनि कार्य मुल्याङ्कन समेत गरेको थापाले गुनासो गरे।

रौताले मकालु गाउँपालिकाको आम्राङ देखि अडिट–२ (सोलाखनी) सम्मको सडक खण्डमा 'कज वे' र वाल निर्माणको जिम्मा लिएको थियो। रौता कम्पनीले स्थानीय निर्माण व्यवसायी निमा लामा, इन्द्र कटुवाल, दुर्गा पराजुली, धनकुमार राई, नवराज थापा लगायतलाई ठुलो रकम भुक्तानी दिन बाँकी छ।

अरुण तेस्रो आयोजनामा दर्जन बढी नेपाली निर्माण कम्पनीहरुलाई कामको जिम्मा दिइएपनि समयमा रकम भुक्तानी नहुँदा उनीहरु मारमा पर्ने गरेका छन्। निर्माणको जिम्मा लिएर एकपटक काम गरेका कम्पनीले पुनः अर्को निर्माण कार्यको जिम्मेवारी लिन नसक्ने अवस्था रहेको व्यवसायीको भनाइ छ। समयमा रकम भुक्तानी नहुँदा स्थानीय कामदार र व्यापारीहरू समेत मारमा पर्ने गरेका छन्। निर्माण व्यवसायीहरुले स्थानीय हार्डवेयर व्यापारीलाई समेत लाखौं रुपैयाँ तिर्न बाँकी रहेको छ। 

अरुण तेस्रो आयोजनाको काम सुरु भएसँगै स्थानीय स्तरमा दुई दर्जन बढी निर्माण व्यवसायी कम्पनीहरु खोलिएपनि उनीहरुले आयोजनामा काम पाएका छैनन्। काम पाएका निर्माण कम्पनीहरुले पनि समयमा रकम भुक्तानी नपाएपछि काम नगर्ने पक्षमा छन्। काम सम्पन्न भएको महिनौं बितिसक्दा पनि रकम भुक्तानी नहुँदा थोरै पूँजी भएका व्यवसायीले कामदार र निर्माण सामाग्रीको रकम भुक्तानी गर्न समेत सकेका छैनन्‌।

अरुण तेस्रो आयोजनमा ७ हजार नेपाली कामदारलाई रोजगारी दिने आयोजना विकास सम्झौता (पिडिए) उल्लेख छ। तर अहिलेसम्म भारतीय कम्पनी सतलजले आयोजनामा प्रभावित क्षेत्रका स्थानीयभन्दा अन्यत्रका कामदारलाई खटाइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.