बर्दिया : वन्यजन्तुको सहज आवागमनका लागि बर्दियाको खाता ‘करिडोर’ संरक्षण क्षेत्रको हुलाकी सडक खण्डमा ओभरहेड ब्रिज बन्ने भएको छ। वन्यजन्तु आवागमनका लागि ‘ओभरहेड ब्रिज’ बन्न लागेको पालको सम्भवत यो पहिलो योजना हो।
प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको डिपिआर तयार भइसकेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ। गौमुखी इन्जिनियरिङ सर्भिस प्रालि ललितपुरले ‘ओभरहेड ब्रिज’ को डिपिआर तयार गरेको हो।
‘ओभरहेड ब्रिज’ निमार्णका लागि करिब ९ करोड रुपैयाँ लाग्ने बताइएको छ। योजनाको वातावरण प्रभाव मूल्यांकन भएलगत्तै आर्थिक ०७७/७८ देखि निर्माण कार्य सुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले बताए।
वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश ५ को यो नयाँ योजना रहेको बताइएको छ। हुलाकी सडकको झण्डै २ किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ। जसमध्ये करिब साढे ५ सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुने गर्छ।
खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ। यसले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोड्ने गर्छ। खाता करिडोर भएर हात्ती, गैँडा, बाघ लगायत संरक्षित वन्यजन्तु नियमित रुपमा नेपाल–भारत आवतजावत गर्ने गर्छन्।
खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एसियाकै निकै महत्वपूर्ण जैविक मार्ग मानिन्छ।
यसको महत्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा यो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोषण गरेको थियो। नेपालमा वन्यजन्तु ओहोरदोहोरका लागि अन्डरपास ब्रिज निर्माण भएका छन्। तर यो ओभरहेड ब्रिज नेपालकै पहिलो प्रयास भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वाग्लेले बताए।
वन्यजन्तुलाई पुलको अनुभव नहुने गरी यसको संरचना तयार पारिने बताइएको छ। पुलको माथि रुख, विरुवा तथा झाडीहरू रोपिने छ। जसले गर्दा वन्यजन्तुले जंगलमै हिँडेको महसुस गर्नेछन्। उक्त ओभरहेड ब्रिज निर्माण पश्चात् वन्यजन्तु दुर्घटनामा पर्नबाट जोगिने विश्वास लिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।