चारवटा संकटसँग एकसाथ जुध्‍नुपरेकाले चुनौती बढ्यो

|

काठमाडौं : गृह मन्त्री रामबहादुर थापाले मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न निर्देशन दिएका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिले सम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिएका हुन्। 

उनले संकटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमिति लगायत सरोकारवाला संघ संस्थाहरुलाई उच्च सतर्कतामा राख्न समेत निर्देशन दिए। थापाले घटना हुनासाथ उच्च सतर्कता अपनाई तुरुन्तै परिचालित हुने गरी काम गर्न समेत निर्देशन दिए।

'यो संकटलाई र अब आउने संकटलाई लक्षित गरी दुईवटा कुरा गर्न जरुरी छ । अब हामीले हाम्रो सतर्कता हाम्रो केन्द्रको कार्यसमिति यससित सम्बद्ध सबै विभागहरु, सरोकारवाला संघ संस्थाहरुसहितले सतर्कतालाई उच्च अवस्थामा पुर्‍याउन जरुरी छ', उनले भने, 'जसलाई हाई अलर्ट हामी भन्छौँ । हामी हाई अलर्टको अवस्थामा रहन जरुरी छ चौबीसै घण्टा। मलाई लाग्छ पक्कै पनि हाम्रा सबै सम्बद्ध संस्थाहरु विभागहरु सतर्क नै हुनुहुन्छ तर यति सतर्कताले पुग्दैन। यसलाई अझ बढाउन जरुरी छ।'

घटना हुनासाथ परिचालित हुने गरी तयारीमा जुट्न पनि उनले निर्देशन दिए। 'हामीले घटना हुनासाथ तुरुन्तै परिचालित हुन जरुरी छ । उच्च सतर्कता र तुरुन्तै परिचालित हुने तल हाम्रो स्थानीय तहहरुमा हामीले संरचना बनाएका छौं जुध्‍न हाम्रो प्रदेशस्तरमा पनि छ केन्द्रस्तरमा पनि छ', उनले अगाडि भने, 'केन्द्रस्तरमा विभिन्‍न अन्य संरचना पनि छन्। विभागीय भनौं अथवा विषयगत संरचना हामीले बनाएका छौं । हामी सबै घटना हुनासाथ तुरुन्तै परिचालित हुन जरुरी छ ।’

गृहमन्त्री थापाले जेठदेखि नै सुरु भएको मनसुन भदौसम्म रहने भएकाले यसबाट उत्पन्‍न हुने संकटको सामना गर्न नयाँ नीति र योजना अपनाउनुपर्नेमा जोड दिए । ‘घटनाको निरन्तर समीक्षा गर्दै हामीले यसलाई समाना गर्ने यससित जुध्‍न तयार हुनुपर्छ', उनले भने, 'समस्याको समाधान गर्ने सन्दर्भमा फेरि हामीले नयाँ नयाँ नीतिहरु योजना पनि सँगसँगै अपडेट गर्दै जानुपर्ने हुन्छ।’ 

मनसुनले यस वर्ष बाढी पहिरोको जोखिम बढाएको भन्दै संकटको सम्भावनाको आकलन गरिएको उनले बताए। जेठमा नै परेको पानीले धरातल भिजेका आगामी दिनमा ठूलो वर्षा हुने अनुमान गरिएको बताउँदै थापाले देशव्यापी बाढी पहिरो आई धनजनको क्षति हुने सम्भावना बढेको तर्फ सचेत गराए। उनले संकटलाई सामना गर्दै जनताको जीउ धनको रक्षा गर्ने चुनौती बढेको उल्लेख गरे।

‘मनसुनले ल्याएको संकट मुख्यतः बाढी पहिरोको रुपमा जुन संकट पैदा हुँदै गइराखेको छ र अहिलेको हाम्रो समीक्षा हेर्दा खेरी यो वर्ष मनसुनले ठूलै संकट ल्याउने सम्भावनाको हामीले आकलन गरिराखेका छौं', उनले भने, 'विज्ञहरुको भनाई अनुसार मनसुनले जेठमा नै यहाँको धरातल धेरै भिजाइसकेको छ। यसलाई स्याचुरेट गरिसकेको छ । अब आगामी दिनमा ठूलो वर्षा हुने देखिन्छ। विशेष गरेर अब आउने ३/४ दिन अविरल वर्षा हुने सम्भावना छ। विशेष गरेर पूर्व र मध्य क्षेत्रमा अविरल वर्षा भयो भने यसले ठूलो बाढी पहिरो आएर जनधनको क्षति हुनसक्ने सम्भावना प्रवल छ। त्यसकारण हाम्रा अगाडि ठूलो चुनौती खडा भएको छ।'

थापाले देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौती बढी नै रहेको बताए । 'कोरोना भाइरसका कारण मानव स्वास्थ्यमा परेको संकट, अर्थतन्त्रको संकट, लामो समय लकडाउन हुँदा समाजमा परेको संकट र मनसुन छिटो हुँदा बाढी पहिरोका कारण पर्ने संकटको व्यवस्थापन एकैसाथ गर्नु परेकाले चुनौती धेरै छ', उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.