|

बर्दिया : वर्षौंदेखि स्थानीयले कब्जा गर्दै आएको बर्दियाको ठाकुरद्वारा क्षेत्रको धार्मिक वनको जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरद्वारा मन्दिर नजिक रहेको यस वन वर्षौंदेखि अतिक्रमणमा परेको छ। 

निकुञ्ज प्रशासनले उक्त अतिक्रमित बस्ती हटाउन स्थानीयलाई नियन्त्रणमा लिन थालेपछि विवाद उत्पन्न भएको छ। ठाकुरबाबा नगरपालिका ९ बजारको मन्दिर नजिक रहेको धार्मिक वनको अतिक्रमित बस्ती हटाउन भन्दै स्थानीयलाई नियन्त्रणमा लिन गएका निकुञ्ज कर्मचारी र स्थानीयवासीबीच बिहीबार बिहान सामान्य झडपसमेत भएको थियो। 

बिहानै बस्ती हटाउन निकुञ्जको टोली पुगेपछि स्थानीय विरोधमा उत्रिएका हुन्। अतिक्रमित बस्ती हटाउन भन्दै सुतिरहेको अवस्थामा बिहानै स्थानीयलाई पक्राउ गर्न गएको बर्दिया निकुञ्जको टोली र स्थानीय बीच विवाद सुरु भएको हो।

स्थानीय र निकुञ्जको टोलीबीच अहिले पनि विवाद जारी रहेको वडाध्यक्ष राधा चौधरीले बताइन्। निकुञ्जका कर्मचारीले हरेक दिन बस्तीका स्थानीयलाई पक्राउ गरी निकुञ्ज लैजाने र कागजमा सही गराउन थालेको र आज पनि दुई जनालाई पक्राउ गरी लैजान खोजेपछि स्थानीय विरोधमा उत्रिएका उनले बताइन्। 

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने धार्मिक वनको जग्गा अतिक्रमण गरी बसेका ५४ वटा घर टहरा हटाउने प्रक्रिया सुरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। 
मन्दिर परिसर नजिक मध्यवर्ती क्षेत्रमा बसोबास गरिरहेका केही स्थानीयले सूचना टाँस गरी निश्चित दिन तोकेर हट्न भन्नुपर्ने जनाएका छन्। केहीले आफूहरू वर्षौंदेखि बस्दै आएकाले नहट्ने अडान लिएका छन्। 

धेरैपटक सूचना दिई अतिक्रमित बस्ती हटाएर उक्त क्षेत्र खाली गर्न अनुरोध गरिएको थियो। निकुञ्जको अतिक्रमित बस्ती हटाउन कर्मचारी खटाइएको र तत्काल बस्ती खाली गराउने उप्रमुख संरक्षण अधिकृत बरालले बताए। निकुञ्ज र स्थानीय बासिन्दाबीच अहिले वार्ताको तयारी भइरहेको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.