|

काठमाडौं  ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका विभिन्न जिल्लामा गएको बाढी पहिरोको कारण भएको मानवीय र धनमालको क्षति भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उनले उक्त घटनाबाट आफू स्तब्ध भएको पनि बताएका छन्। 

‘यस दुःखद घटनामा ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’  मुख्यमन्त्रीले आज शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै कतिपय व्यक्ति वेपत्ता भएको र घरबारविहीन भएर विचल्ली परेको अवस्थामा रहेकाले उद्धार तथा राहतमा सक्रिय भएर जुट्न र यस विषम परिस्थितिमा धैर्य धारण गरी सतर्क रहन सबैमा आग्रह गर्दछु। यस संकटको घडीमा उपचार, खोजी र उद्दार कार्यमा जुट्ने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु।’ 

बाढी तथा पहिरोमा परी परिवार गुमाएका तथा प्रभावित परिवारको तत्काल उद्दार, राहत, पुनः थापना एवं पहिरोका कारण जोखिममा परेको बस्तीको संरक्षणमा तदारुकताका साथ लाग्न सम्बन्धित तहको गम्भीर ध्यानाकर्षण गराउँदै त्यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता मुख्यमन्त्रीले व्यक्त गरेका छन्।

मुख्यमन्त्री गुरुङले जल तथा मौसम पूर्वानुमान महाशाखालाई उदृत गर्दै अझै केही दिन गण्डकी प्रदेशमा भारी वर्षा हुने र वर्षाकै कारण नदीहरूमा पानीको बहाव बढ्ने, भूक्षय हुने, सडक यातायात प्रभावित हुन सक्ने भएकोले सावधानी अपनाउन पनि भनेका छन्।

‘जल तथा मौसम पूर्वानुमान विभागका अनुसार गण्डकी प्रदेशमा केही दिन भारी वर्षा हुने र जसका कारण नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने तथा सडक यातायात प्रभावित हुनसक्ने भएकाले यस अवधिमा अझ बढी सावधानी र उच्च सतर्कता अपनाउन समेत सम्बन्धित सबै पक्ष लगायत आम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु,’ मुख्यमन्त्री गुरुङले भनेका छन्।  गण्डकी प्रदेशका म्याग्दी, लमजुङ र कास्कीमा बाढी पहिरोले सबैभन्दा धेरै क्षति गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.