|

काठमाडौं : मुलुकभर विभिन्न ठाउँमा गएको बाढी-पहिरोले ठूलो धनजनको क्षति गरिसकेको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी प्रदेश १ को पहाडी र तराई दुवै जिल्लाहरू बाढी-पहिरोको उच्च जोखिममा रहेको बताएको थियो। सोहीअनुरूप प्रदेश सरकारले बाढी-पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणको लागि आवश्‍यक पूर्व-तयारीमा छ।

पहाडका पाँच र तराईका तीन जिल्ला उच्‍च जोखिममा

यसै सिलसिलामा प्रदेश-१ सरकारले बढी डुबान हुने क्षेत्र र उच्च जोखिम रहेका जिल्ला र स्थानको वर्गीकरण गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाका अनुसार प्रदेश १ का पहाडी जिल्लाहरूमा भोजपुर, धनकुटा,ताप्लेजुङ,संखुवासभा र तेह्रथुम बाढी-पहिरोको उच्‍च जोखिममा छन्। त्यसैगरी, डुबानको उच्‍च जोखिममा तराईका झापा मोरङ, सुनसरी र उदयपुर जिल्लाहरू पर्दछन्।

बाढी-पहिरो र डुबानबाट बस्तीहरू जोखिममा नपरोस् भन्नको लागि भौतिक निर्माणको काम पनि भइरहेको मन्त्रालयले जनाएको छ। हरेक स्थानीय सरकारलाई बाढी-पहिरोबाट बच्न र त्यसबाट हुने धनजनको क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत परिपत्र गरिसकिएको पनि प्रवक्ता थापाले बताए।

उद्धार र राहतको तयारी

तराईमा हुने बाढी र डुबानको क्षति न्यूनीकरण, उद्धार र राहतका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको थापाले बताए। उनले भने,'राहतका लागि कम्बल, भाँडाकुँडालगायत विभिन्‍न सामग्रीहरू राखेका छौँ।'

डुबान र पहिरो जाने स्थानलाई लक्षित गरी उद्वारका लागि प्रदेश सरकारले एउटा हेलिकोप्टर र केही डुंगासमेत तयारी अवस्थामा राखेको उनले बताए। उनले भने,' अप्ठ्यारोमा परेको मानिसको उद्वार गर्नलाई नेपाली सेनाको पूर्वी पृतनामा एउटा हेलिकोप्टर र केही डुंगा तयारी अवस्थामा राखिएको छ। आवश्यक परेमा संघीय सरकारलाई अनुरोध गरिन्छ।'

तराईका डुबान हुने प्रदेश १ का उल्लिखित चार जिल्लाहरूलाई उच्‍च निगरानी बढाइएको उनको दाबी छ।

त्यस क्षेत्रमा वर्षेनी डुबान, कटान हुने समस्याले गर्दा ती जिल्लाका नदी तथा खोलाहरूमा तारजाली र बाँधसहित बढी सर्तकता अपनाइएको उनको भनाइ छ। झापा, मोरङ र सुनसरीमा बढी डुबान भएको क्षेत्रबाट नागरिकको उद्बार गर्नलाई प्रदेश सरकारले  डुंगा तयारी अवस्थामा राखेको छ। नेपाली सेना, प्रहरी र सशस्त्र सँग भएका डुंगाहरुले उद्बार गरिने उनले जानकारी दिए। उनले भने,
'डोरी, लाइफ ज्याकेट र खोलामा रहेका काठका मुडाहरू काट्न चक्कु र अन्य सामग्री तयारी अवस्थामा छन्।'

यी हुन् कटान र डुबान गर्ने नदी

मन्त्रालयका अनुसार प्रदेश १ मा डुबान र काटानको उच्च जोखिममा रहेका खोला तथा नदीहरूमा कोशी, रतुवा, कन्काई, बक्राहा, त्रियुगा, माँवा, बुढी खोला र टेङ्ग्रा खोला छन्।

बाढी र कटानको प्रदेशकै उच्‍च जोखिममा रहेको  जिल्ला सुनसरी हो। वर्षेनी कोशी नदीमा बढेको पानीको बहावले र सुनसरी  खोलामा आएको बाढी दक्षिणी भेगमा क्षति गर्ने गरेको छ।

सुनसरीमा वर्षेनी डुबान'

कोशीको कटान र डुबानले प्रत्येक वर्ष सुनसरी जिल्लामा ठूलो क्षति हुने गरेको छ। यस वर्ष बाढी पहिरोको जोखिमबाट बच्नको लागि जिल्लाका प्रत्येक स्थानीय निकायलाई परिपत्र गरिसकेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए। उनले भने, 'सुनसरीमा सबैभन्दा बढी उच्च जोखिममा रहेको स्थानीय निकायहरु कोशी गाउँपालिका, भोकराहा र वराहक्षेत्र छन्। त्यस क्षेत्रका स्थानीय नागरिकलाई सचेत रहन आग्रह गरिसकिएको छ।'

गृह मन्त्रालयका परिपत्रअनुसार नै रहेका पालिकाका नागरिकलाई सचेत र सतर्क हुन आग्रह गरिसकेको पौडेलले थाहाखबरलाई बताए। स्थानीय सरकारले प्राकृतिक विपतबाट सुरक्षित रहनको लागि टेन्ट राखेर बसिसकेको उनले जानकारी दिए। जिल्ला प्रशासनसँग डुबान क्षेत्रका मानिसको उद्वार गर्नलाई ८ वटा डुंगा तयारी अवस्थामा रहेको उनले बताए।

कोशीमा पानीको बहाव बढदै गएकोले ५६ मध्ये ३१ वटा ढोका खोलिएको उनले जानकारी दिए। उनले भने, '२ लाख ५० हजार क्युविक फिट पानी भएमा उच्च जोखिममा हुने गर्छ। अहिले १ लाख ३४ क्युविक फिट पानी रहेको छ। अहिले डराउनुपर्ने अवस्था छैन।'

कोशी ब्यारेजको सम्पूर्ण ढोकाको चाबी भारतीय पक्षसँग रहेकोले सुनसरीको भाग डुबान हुँदा पनि प्रशासनले तत्काल खोल्न नसक्ने उनले बताए। भारतसँग चाबी रहेकोले वर्षेनी सुनसरीको भाग डुबान हुने गरेको छ। पुरानो सम्झौताअनुरूप कोशी ब्यारेजको भारतसँग चाबी रहेको उनको भनाइ छ।

३१ ढोका खोल्दा वराहक्षेत्रमा असर पर्दैन

नेपालको सबैभन्दा ठूलो नदी वराहक्षेत्र नगरपालिकामा परेकाले केही जोखिम रहेको भए तापनि अहिले कोशीमा बढेको पानीले वराहक्षेत्रलाई असर नगर्ने वराहक्षेत्र नगरपालिकाको प्रमुख निलम खनालले बताए। उनले भने, 'आज बिहान कोशी नदीले कटान गर्ने क्षेत्रको निरीक्षण गरिएको थियो। त्यस्तो कटान गर्ने अवस्था छैन।'

३१ वटा ढोका खोल्दा वराहक्षेत्र नगरपालिका पूर्ण रुपमा सुरक्षित हुने र यस क्षेत्रमा डुबान नहुने प्रमुख खनालले बताए। स्थानीयलाई सचेत र सतर्क रहनलाई नगरपालिकाले पनि आग्रह गरिसकेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.