|

काठमाडौं : अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कुनै पनि राहत प्याकेज ल्याउन नसकेको उद्योगी व्यवसायीहरुले बताएका छन्। 

आयात निर्यात व्यवसायसँग सम्बन्धित उद्योगी व्यवसायीहरुले कोभिड १९ का कारण उद्योग व्यवसाय समस्यामा परेको तर सरकारले राहत दिन कुनै स्टिमुलस प्याकेज ल्याउन नसकेको बताएका हुन्। शुक्रबार काठमाडौंमा भेला भएका उद्योगी व्यवसायीहरुले सरकारले ठप्प भएको व्यवसायीक क्षेत्रलाई रेस्क्यु गर्ने प्याकेज नल्याउँदा अचम्म लागेको बताएका छन्। 

नेपाल जर्मन चेम्बर अफ कमर्सका अध्यक्ष अनुप बहादुर मल्लले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन र अर्थतन्त्रको साइकल कायम राख्न कुनै पनि कार्यक्रम सरकारले ल्याउन नसकेको बताए। सरकारले निजी क्षेत्रलाई रेस्क्यु गर्ने भन्दा पनि ट्याक्स तिर्न दबाब दिने र बैंकले पनि व्यवसायीको खाताबाट रकम तान्दिने प्रवृत्तिले समस्या बढेको बताए। सरकारले रिफाइनान्सको प्याकेज घोषणा गरे पनि लिनै नसकिने सर्तहरु राखेकाले कुनै औचित्य नभएको उनले बताए। 

नेपाल अमेरिका चेम्बरका अध्यक्ष किरण शाक्यले ब्याजदरमा २ प्रतिशत छुट दिएर सरकारले राहत दिए भन्नु सबैभन्दा दुःखको कुरा भएको बताए। 

ब्याजदरमा २ प्रतिशत छुट दिएर कुनै पनि राहत नमिल्ने उनले स्पस्ट पारे। बैंकले ब्याज र किस्तालाई पुँजीकरण गर्न नमानेर व्यवसायीहरुलाई असहयोग गरेको उनले बताए। कृषि क्षेत्रका लागि समेत ब्याज पुँजीकरण गर्न नमानेको उनले बताए। 

युरोपियन इकोनोमिक चेम्बरका महासचिव राजन शर्माले लकडाउनका कारण आयात निर्यातको कुरामा ढुवानी लागत नै उच्च भएको बताए। सरकार ढुवानी सहज बनाउन कुनै काम नगर्ने तर राजश्व उठाउन लागिपर्ने अवस्थाले व्यापार गर्न समस्या भएको बताए। 

उद्योगी व्यवसायीहरुले सरकारले निजी क्षेत्रका लागि मात्रै छुट्टै स्टिमुलस प्याकेज ल्याउनुपर्नेमा जोड दिएका छन्। अर्थतन्त्रलाई चलायमान बनाए मात्र सरकारको आम्दानी बढ्ने भएकाले पनि व्यवसायिक क्षेत्रलाई उद्धार गर्नुपर्नेमा उनीहरुले जोड दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.