|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारसँग एक महिनासम्म कोरोना परीक्षण गर्न पुग्ने पीसीआर कीट मौज्दात रहेको जानकारी दिएको छ।

अहिलेकै दरमा परीक्षण भइरहे एक महिना सम्मलाई पुग्ने पीसीआर किट मौज्दात रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए। उनले भने, ‘हामीसँग हाल एक लाखभन्दा बढी पीसीआर किट मौज्दात छ, अहिलेकै दरमा परीक्षण भए अझै एक महिनालाई पुग्छ।' हाल सरकारले दैनिक सरदर ४ हजार हाराहारी नमूनाको पीसीआर परीक्षण गरिरहेको छ।

पछिल्लो केही दिनयता उपत्यकामा संक्रमण बढ्दै गएकाले एक हप्ताभित्र कम्तिमा पनि ४५ हजार नमूना संकलन गरी परीक्षण गर्न मन्त्रालयले तयारी अगाडी बढाएको छ। ४५ हजारको परीक्षण गर्दा उपत्यकामा संक्रमणको अवस्था थाहा हुने मन्त्रालयले अनुमान गरेको छ।

अहिलेसम्म भेटिएकामध्ये ९४ प्रतिशत संक्रमत बाहिरबाट आएकाहरू रहेको पाइएको छ। सरकारले असार १५ गतेदेखिदेखि ​पीसीआर परीक्षणको दायरा बढाएर दैनिक १० हजार पुर्‍याउने घोषणा गरेको थियो।

तर, असार १५ गतेदेखि परीक्षण बढ्नुको साटो घट्दै गएको छ। मन्त्रालयकै विवरणअनुसार हालसम्म सबैभन्दा धेरै असार १५ गते  ७ हजार ७ सय वटा नमूना परीक्षण गरिएपनि त्यसपछि परीक्षण घट्दै गएको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार क्वारेन्टाइनमा बस्नेको र पछिल्लो समय भारतबाट आउने मानिसको संख्या पनि घटेका कारण हाल प्रयोगशालामा नमूना नै कम संकलन भएको छ। यसैकारण पीसीआर परीक्षण घटेको उनी बताउँछन्।

उनले भने, ‘केही समय अघिसम्म भारतबाट आएर क्वारेन्टाइनमा बस्नेको संख्या धेरै भएकाले नमूना पनि धेरै संकलन हुन्थ्यो, अहिले भारतबाट आउने नेपालीको संख्या ह्वात्तै घटेको छ, जसले गर्दा नमूना पनि कम संकलन भएको छ र परीक्षण पनि घटेको छ।‘

महामारी सुरु भएका बेला क्वारेन्टाइनमा बस्नेहरूको संख्या २ लाखको हाराहारीमा थियो। त्यस बेला नेपालका प्रयोगशालाहरूमा २० हजारसम्म नमूना थुप्रिएका थिए। अहिले क्वारेन्टाइनमा बस्नेहरूको संख्या २५ हजारभन्दा कम छ।

मन्त्रालयका अनुसार मुलुकभरका पीसीआर परीक्षण हुने केही प्रयोगशालामा नमूना सकिएका छन्। नमूना भएका प्रयोगशालामा पनि  क्षमताभन्दा बढी नमूना छैन। तर, सरकारले विदेशबाट नागरिक ल्याउन थालेकाले जोखिम बढेसँगै अबका केही दिनपछि पुनः स्वाबको संख्या र परीक्षणको दायरा बढ्ने गौतमले जानकारी दिए।

हाल सरकारले विदेशबाट आएका र यही कन्ट्याक्ट ट्रेसिङमा परीक्षणलाई बढी प्राथामिकता दिएको छ। दैनिक देशभर ५ देखि ६ हजारको संख्यामा नमूना संकलन भएका छन्। हाल जति संकलन भएका छन् : त्यति नै परीक्षण भएको छ।

दैनिक १५ सय संख्यामा नमूना परीक्षण गर्दै आएको केन्द्रीय प्रयोगशालाले नमूना नभएका कारण एक हप्तादेखि ६ देखि ८ सयको संख्यामा मात्रै नमूना परीक्षण गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.