सामग्री भएर पनि उद्धार गर्न नसक्दा ‘हारेको सिपाही भएँ’ : प्रजिअ ढकाल

|

पर्वत : बिहीबार रातिको पहिरोपछि सम्पर्कविहीन म्याग्दीकी एक गर्भवतीलाई होलीकोप्टरमार्फत उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको छ।

बाढी र पहिरोका कारण सम्पर्कविहीन रहेकाहरूलाई शनिबार बिहानबाट हेलिकोप्टरमार्फत उद्धार गर्न सुरु गरिएपछि धौलागिरि गाउँपालिका ६ मराङकी २२ वर्षीया मञ्जिला श्रीपाली घाइते अवस्थामा फेला परेकी थिइन्। उनलाई मराङबाट प्रभु एयर हेलिकोप्टरमार्फत म्याग्दीको बेनी अस्पतालमा लगेर सामान्य उपचार गरेपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।

मञ्जिलासहित ७ वर्षीय सफल श्रीपाली र मालिका गाउँपालिका ६ बिमका पूर्णबहादुर परियारलाई पनि हेलिकोप्टरमारर्फत नै उद्धार गरिएको थियो। सफललाई पनि थप उपचारको लागि मञ्जिलासँगै पोखरा पठाइएको छ भने पूर्णबहादुरको बेनी अस्पतालमा नै उपचार भइरहेको छ।

बिहीबार रातिको पहिरोले ठाउँठाउँका सडक भत्किएका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पहिरो स्थलमा जान नसक्दा उद्धार कार्य नै प्रभावित भएको थियो। स्थल मार्गबाट उद्धार असम्भव भएपछि नेपाली सेना र सडक पहिरोले अवरुद्ध, खराब मौसमका कारण घाइतेको शुक्रवार उद्धार हुन सकेको थिएन।

हारेको सिपाही जस्तै बनेको छु : प्रजिअ

प्रजिअ ढकालले थाहा खबरसँग कुरा गर्दै म्याग्दीको घट्नामा तत्काल उद्धार गर्न नसक्नुले आफू हारेको सिपाही जस्तो बनेको बताएका छन्। सम्भावित दैवी प्रकोपको आङ्कलन गरेर २ सय भन्दा बढी ब्ल्याङकेट, चामल, दाल लगायतका राहत सामग्री तयारी अवस्थामा राखेर पनि केही गर्न नसकिएको उनको भनाइ छ।

‘हेलिकोप्टर छैन कि, गाडी छैन कि, घोडा छैन कि, मान्छे छैन कि, हतियार छैन कि, बुद्धि विवेक छैन कि, तयारी छैन की, यो अवस्था आउन सक्छ भनेर सबै राहत सामग्री तयारी अवस्थामा थियो।’ भावुक हुँदै उनले भने, ‘आज मलाई जीवनमा दोस्रो पटक यस्तो भएको छ। उद्धार गरेर सबै थोक बाँडौँला भनेका थियौँ। हामीसँग सबै भएर पनि केही गर्न सकिएन। यस्तो हारेको सिपाही भइयो। उद्धार गर्न पनि सकिएन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.