समाज

प्रविधिले खोस्यो जमिन नहुनेको रोजगारी

असार २७, २०७७

    बागलुङ : असार अन्तिम साता पर्याप्त पानी प¥यो भने बागलुङ नगरपालिका–१३ बलेवामा रहेको दम्कफाँट गोरु, हली, बाउसे र खेतालीले भरिभराउ हुन्थ्यो। 

    ठूलो फाँट भएकाले कम्तीमा पनि आठ/दश हल गोरु दम्कको फाँटमा नारिन्थे। तर अहिले दम्कको फाँटमा यस्तो देखिँदैन। दम्कको फाँटमा एक हल गोरुमात्रै नारेर हिलो पार्नु हुन्न भन्ने मान्यता छ। केही वर्ष पहिला खुलेको कालीगण्डकी कोरिडोरको ट्रयाकले पहिलो पटक दम्कको फाँट जोतेर जीवन गुजार्ने किसानको भाग खोस्यो। कृषिमा यान्त्रीकरण भित्रियो। गोरु र हलीको रोजगारी खोसियो।

    विगतमा गोरु पाल्नेहरुले दैनिक ज्याला लिएर गोरु दिन्थे, हली जानेले ज्याला पाउँथे। कालीगण्डकी करिडोरको ट्रयाक खुलेपछि गोरुको काम आधुनिक ट्रयाक्टरले गर्न थाले। कृषिका अन्य यन्त्र थपिए।

    हलीको काम गर्ने ड्राइभर भए। हिजो काँधमा हलो राखेर दैनिक ज्यालाका लागि हिँड्नेहरू अहिले कोदाली बोकेर हिँड्छन्। दम्कको फाँट मात्रै होइन, जिल्लाका सबै ठूला फाँटहरूमा गोरु छैनन्। जमिन कोतर्ने काम यन्त्रले गर्न थालियो। 

    पश्चिमका केही स्थानीय तहबाहेक घर–घरमै गोरु पालेर खेती गर्नेहरू हराउन थाले। अहिले परिवर्तन आएको बलेवाका स्थानीय भवानी प्रसाद शर्मा बताउँछन्। 

    बडिगाड गाउँपालिका–९ काभ्रे खर्कका पूर्णराम लम्साल वर्षाको सिजनमा मात्रै ४५ दिनसम्म हलो बोक्थे, खेत जोत्न माहिर उनले १० वर्ष पहिलासमेत दिनको एक हजार ज्याला लिने गरेका स्थानीय राम सुवेदी बताउँछन्। उनी अहिले बुढ्यौलीले काम गर्न नसक्ने भए तर उनीजस्तै हलोको सहारामा जीवन गुजार्नेहरुको रोजगारी भने आधुनिक प्रविधिले खोस्यो।

    बलेवा, गलकोट, खौलारा, बेलबगरजस्ता केही फाँटमा ट्याक्टर प्रयोग हुन थालेका छन्।
    साना र साँघुरा खेतबारीका पाटासमेत जोत्न मिल्ने मिनिटेलर हलोको प्रयोग प्रयोग हुन थालेको त। परम्परागत खेती प्रणालीमा आवश्यक गोरु र हलीको माग स्वात्तै घटेको कृषि प्राविधिक रवीन्द्र शर्मा बताउँछन्।

    कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै परम्परागत प्रविधिमा आधारित किसानहरू सोहीअनुसार परिवर्तित हुनुपर्ने उनको सुझाव छ। जिल्लामा कति जना गोरु नारेर जीविका चलाउने पेसामा आबद्ध छन् भन्ने तथ्यांक भने कसैसँग छैन। तर जिल्लामा झण्डै चार सय मिनिटेलर वितरण भइसकेको अनुमान कृषि ज्ञान केन्द्र पर्वतसँग छ।

    चालु आर्थिक वर्षको पछिल्लो महिनाको काम चलिरहेकाले अहिले नै तथ्यांक आइनसके पनि ४ सयभन्दा धेरै किसानले हलो प्रयोगमा ल्याएका ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताए। विभिन्न पकेट, ब्लक कार्यक्रम, कृषि आधुनिकीकरण कार्यक्रम र स्थानीय सरकार तथा कृषक समूह आफैंले खरिद गरेर भए पनि मिनिटेलरको प्रयोग बढाइएको उनले बताए। 

    मिनिटेलरको प्रयोग बढेसँगै गोरु पाल्नेको संख्यामा पनि कमी आएको छ। रोपाइँको समयमा खेतका छेउ कुना सबै बाँझो मेट्न प्रशस्त बाउसे चाहिन्छ। तर, मेसिनको प्रयोगले छेउकुनाको बाँझोसमेत कम हुने भएकाले बाउसेको माग घटेको छ। 

    ‘धेरै खेतीपाती हुने तर काम गर्ने मान्छे नभएकाले खेतीपाती नभएकालाई काम दिन्थे’, बागलुङ नगरपालिका–१४ नारायण स्थानका कृष्ण शर्माले भने ‘मेसिन आएपछि खेती नभएकाले सिजनमा पाउने रोजगारी खोसिएको छ।’ 

    हिउँदमा ज्याला मजदुरी गरी वर्षामा खेतीपातीमा लाग्ने मजदुर सबैभन्दा धेरै प्रभावित भएका छन्। विकल्प पहिचान गर्न नसक्दा र रोजगारीका प्रशस्त सम्भावना नभएका कारण आफूहरु मर्कामा परेको कृषि मजदुरहरू बताउँछन्।

तारानाथ आचार्य

 आचार्य थाहा खबरका बाग्लुङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]