नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ३८ पुग्यो
नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ३८ पुग्यो
काठमाडौं : काठमाडौंका २ सहित नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ठेगाना भएका २ र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० संखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो। फोक्सोमा पानी जमेको र मिर्गौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।
यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। मिर्गौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो। असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए। २१ गते स्वाबको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
यस्तै, सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।
शनिबार थपिए ७० सक्रमित
शनिबार ७० जना नयाँ संक्रमित थपिएका छन्। शनिबारसम्म कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार २ सय ३९ जना संक्रमित उपचाररत रहेका छन्। शनिबार ४ सय ३१ गरी आजसम्म ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन्।
सरकार पछिल्लो केही दिनयता कोरोनाको पीसीआर परीक्षण घटाउँदै लगेको छ। हरेक दिन साढे ४ हजारको औषतमा परीक्षण गरिरहेको सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ । आजसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टिनमा २४ हजार ९७ जना रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।