|

काठमाडौं : सिन्धुपाल्चोक बाह्रबीसे बजारसम्म जाने सडक मर्मत भएको छ। बुधबार आएको जम्बु बाढीले अवरुद्ध भएको सडक शनिबार दिउँसोबाट सञ्‍चालनमा आएको हो। बाह्रविसे नगरपालिका ५ जम्बुमा गएको पहिरोले बाह्रविसे प्रवेशद्धार जुरेमा सडक कटान गरेको थियो। जुरेमा सडक निर्माण भएपछि बाह्रविसेसम्मको सडक खुल्ला भएको छ।

बाह्रबिसे नगरपालिकाको सक्रियतामा सडक विभागले सडक निर्माण गरेको हो। जुरेमा सकड कटान गरेपछि चीनसँग सीमा जोडिएको बाह्रविसे र भोटेकोशी गाउँपालिकामा सडक सम्बन्ध टुटेको थियो।

बाह्रविसेसम्म सडक खुलेको भएपनि त्यहाँबाट उता अझै १० ठाउँमा सडक बाढीले कटान गरेको छ। अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सामाग्री लैजानको लागि बाह्रविसे बजारसम्म सडक सञ्चालनमा ल्याएको बाह्रविसे नगरपालिका उपप्रमुख सुशीला पाख्रीनले जानकारी दिइन्।

 अरनिको राजमार्गअन्तर्गत पर्ने सो सडक खुलाउन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको सो सडक खुलाउन पहल गरेका थिए। शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सम्बद्ध सरकारी अधिकारी, जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका प्रतिनिधि र जिल्लाका राजनीतिक नेताहरुसँग छलफल गरी तत्काल सडकमार्ग खुलाउने उपायबारे छलफल गरेका थिए।

सभामुख सापकोटाले तत्कालीन उपाय अपनाएर टुटेको सडक सम्पर्क स्थापित गर्नुपर्नेमा जोड दिँदै आफूले यसका लागि पहल जारी राखेको थिए। सडक विभागका महानिर्देशक केशब कुमार शर्माले अरनिको राजमार्गअन्तर्गत जुरेदेखि तातोपानीसम्म ११ ठाउँमा मुख्य क्षति भएको थिए।

खागदल, झ्याले र डाकलाङमा गरी कम्तिमा तीनवटा बेलिब्रिज हाल्नुपर्ने प्रारम्भिक प्रतिवेदन आएको र स्थलगत अवलोकनपछि मात्रै विस्तृत विवरण आउने उनको भनाई छ। सभामुखले शुक्रबार गरेको छलफलमा बाढीले पक्की पुलसमेत बगाएकोले यथासक्य छिटो बेलिब्रिज हालेर या वैकल्पिक मार्ग भएर तातोपानीसम्म सडक जोड्नुपर्नेमा जोड दिएका थिए। जम्बु पहिरोले बाढी र पहिरोले अरनिको राजमार्गको बाह्रबिसे नगरपालिकाअन्तर्गत जुरे सडकखण्ड, बाह्रबिसे चौकीनजिक हुँदै खुर्सानीबारी व्यारेक मुनिको सडक, खागदल खोला पक्की पुलमा क्षति र खागदल क्षेत्रको सडकखण्ड, खागदलदेखि जम्बु जाने सकडखण्ड, जम्बु बजार क्षेत्र, नयाँ पुल सडकखण्डमा क्षति पुगेको छ।

यस्तै, भोटेकोशी गाउँपालिकाअन्तर्गत बुल्कुटे पुल र सडकखण्ड, डाक्लाङ सडकखण्ड, खोकुण्डोल सडकखण्ड, लार्चा बेलिब्रिज क्षेत्रको सडकखण्ड, १० किलो सडकखण्ड र तातोपानी–धारामाथिको सडकखण्डमा क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.