|

काठमाडौ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र  भोटेकोसी गाउँपालिका बाढी पहिरोले थिलथिलो भएका छन्। बाढी पहिरोमा परेर अझै १५ जनाभन्दा धेरैको अवस्था अज्ञात छ। दुवै पालिका अहिले बाढीपहिरोको उच्च जोखिमा छन्।

निरन्तरको वर्षाले भोटेकोशी नदीका तटीय क्षेत्रका वस्तीहरू संकटमा परेका छन्। बुधबार रातिको अविरल वर्षापछि भोटेकोशी गाउँपालिका-३ लार्चामा पहिरो झर्यो। उक्त पहिरोमा परेर बेपत्तामध्ये एक थिए भोटेकोशी गाउँपालिका-३ का ५७ वर्षीय नाप्चे मगर। परिवार र उद्धारमा जुटेकाहरूले माया मारिसकेको बेला उनी भने जीवितै भेटिएका छन्। 

पहिरोमा परेर बेपत्ता भएका उनी करिब २४ घण्टापछि जीवितै भेटिएका हुन्। बुधबार राति घरमा बाढी पस्दा भागेर बाँचेका उनलाई अर्को ठाउँमा गएर बस्दा पनि पहिरोले छोपेको थियो। त्यहाँ पहिरोले छोपेपछि हराएका उनको मृत्यु भएको समाचार पनि आएको थियो। तर २४ घण्टापछि उनी जीवितै भेटिएका हुन्। 

शनिबार बिहान भोटेकोशी नदी किनारबाट उनलाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए।

'हामीले भोटेकोशीको किनारबाट उनको उद्वार गरेका छौँ। मगरको टाउको र खुट्टामा चोट लागेको छ', उनले  भने, 'उनलाई अहिले स्वास्थ्य संस्था भर्ना गरेर उपचार भइरहेको छ।'

बुधबार रातिदेखि परेको अविरल वर्षाले भोटेकोसी र बाह्रबिसेमा वितण्डा मच्चाएको छ। निरन्तरको वर्षापछि आएको पहिरोले गाउँ बस्ती, खेतबारी र सडक पुरेको छ। तटीय क्षेत्रका सयौँ स्थानीयवासी लुगाफाटा पोको पारेर घरबाट भागेका छन्। 

भोटेकोसी गाउँपालिकाको लार्चा, कोदारी, तातोपानी, बोलेपा, पाङ्सेर्पुका पाँच सय स्थानीयको भागाभागको अवस्था आएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए। बाह्रबिसे र भोटेकोसीमा आएको बाढीमा बेपत्ताको खोजी अझै पनि जारी छ।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.