|

काठमाडाैं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले नेपाल (नेविसंघ) ले आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्दै प्रदर्शन गरेको छ। आज नेविसंघले आयल निगममै धर्ना दिँदै १० दिनको फरकमा २ पटक वृद्धि गएको पेट्रोलियम पदार्थको मूल्य तत्कालै फिर्ता लिनुपर्ने भनेको छ। नेविसंघ अध्यक्ष राजीव ढुंगानाको नेतृत्वमा नेविसंघ पदाधिकारी लगायतले आइतबार मूल्यवृद्धि खारेज गर्न बबरमहलस्थित सडकमा प्रदर्शन पनि गरेको छ। 

निगमले असार २६ गते सूचना निकालेर पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ  तोकिएको छ।  

‘यो संकटको बेलामा जनताको ढाँड सेक्नेगरी मूल्यवृद्धि गर्न पाइँदैन,’ नेविसंघका महामन्त्री दीपक भट्टराईले भने, ‘किनेको मूल्य भन्दा दोब्बर भन्दा पनि धेरैमा विक्रि गरिरहेको आयल निगम उल्टै घाटामा छ भन्ने कर्मचारीलाई बोनस बाँड्ने अनि जनतालाई मूल्यवृद्धिको मारमा पार्ने? अब नेविसंघ चुप लागेर बस्दैन।’

 निगमले मूल्यवृद्धि फिर्ता नगरेर नेविसंघ अझै सशक्त आन्दोलन लिएर आउने पनि उनले बताए।  नेविसंघले यस अघि आयल निगमलाई मूल्य वृद्धि तत्कालै फिर्ता गर्न भन्दै विज्ञप्ती पनि बुझाइसकेको छ। नेविसंघका अध्यक्ष राजीव ढुंगानाले नेविसंघ सबैखाले मूल्यबृद्धिका विराेधमा उत्रिएकाे बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.