|

बागलुङ : शनिबार बागलुङका तीन जनामा कोरोना संक्रमण पुष्टि भयो। यसलाई बागलुङबासीले सामान्य रुपमा लिए। पछिल्लो एक सातायता जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै गएकाले यसको त्रास कम हुँदै गएको महसुस गरिए पनि वास्तविकता भने फरक छ। 

तीन साता पहिलेजस्तो संख्यात्मक हिसाबले संक्रमित कम भए पनि क्वारेन्टाइनमा रहेकाको संख्या र जाँच भएका थ्रोट स्वाबको संख्याका आधारमा कोरोना संक्रमितको संख्या घटेको छैन। 

पछिल्लो पटक स्वास्थ्य कार्यालय बागलुङले गलकोट नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३५ जनाको स्वाब संकलन गरेर पठाएको हो। जसमध्ये केहीको मात्र नतिजा आउँदा दुई जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले बताए।

केही दिनअघि स्वाब संकलन भएका बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा भारतबाट आएर बसेकामध्ये एक जनामा कोरोना देखिएको गुरौको भनाइ छ। यो संख्या गत असार ६ गते देखिएका संक्रमितको संख्याका आधारमा कम हो। जुन दिन जिल्लामा सबैभन्दा धेरै ३७ जना संक्रमित पुष्टि भएका थिए। 

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै संक्रमित पुष्टि हुनेबेला नमुना संकलन गरेर पठाइएकाको संख्या ८ सयको हाराहारीमा थियो। गण्डकीका ११ जिल्लाका क्वारेन्टाइनमा रहेका र कन्ट्याक ट्रेसिङमा परेकाहरुका स्वाबको लाइनमा परेका बागलुङको नतिजा ढिलो आउनु स्वाभाविक थियो। 

एकैपटक धेरैको जाँच हुँदा संक्रमित संख्या पनि निकै उच्च देखिन्थ्यो। अहिले प्रदेशका तीन वटा प्रयोगशालाबाट जाँच भइरहेको छ। लामो पालो कुर्नुपर्ने अवस्था नरहेको प्रादेशिक प्रयोगशाला गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदी बताउँछिन्।

कम संख्यामा जाँच र नतिजा छिटो आइरहेकाले संक्रमित संख्या पनि कम भएको देखिन्छ। जिल्लाभर भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरुमा जाँच केन्द्रित छ। केही कन्ट्याक ट्रेसिङ र तेस्रो मुलुकबाट आएकाहरुको जाँच भए पनि क्वारेन्टाइनमा बसेका भारतबाट आएका धेरै भएकाले प्रोटोकल अनुसार उनीहरुकै जाँचमा केन्द्रित भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

तीन साता पहिले एकै दिन १ सय ५० जनासम्मको स्वाब संकलन गरेको स्वास्थ्य कार्यालयले पछिल्लो साता ३० देखि ६० जनासम्मको मात्रै स्वाब संकलन गरिरहेको छ। जसका कारण पनि संक्रमित संख्या घट्नु स्वाभाविक हो। ‘प्रोटोकलअनुसार मात्रै जाँच भइरहेको छ, क्वारेन्टाइनमा रहेका र सामान्य लक्षण देखिएकालाई जाँच गरिरहेका छौं’, गुरौले भने, ‘हामीकहाँ कन्ट्याक ट्रेसिङ गर्न बाँकी छैन।’ 

समुदायमा फैलिई नसकेकाले गलकोट, काठेखोला, बागलुङ नगरपालिका लगायतका सीमित समुदायमा मात्रै जाँच भएको छ। जिल्लाभर हालसम्म ३ हजार २ सय ८६ जनाको मात्रै पिसिआर प्रविधिबाट जाँच भएको छ। 

भारतलगायत तेस्रो मुलुक र देशका कोरोना प्रभावित जिल्लाबाट आएका ४ सय ५७ जना क्वारेन्टाइनमा छन्। उनीहरुको जाँच गर्नै बाँकी छ। ‘पहिलेजस्तो बाहिरबाट आउने चाप पनि घटेको छ’, गुरौले भने ‘क्वारेन्टाइन बस्ने घटेकाले स्वाभाविक हिसाबले जाँच कम हुने नै भयो।’ जिल्लाभर संक्रमितको संख्या २ सय १६ पुगेको छ भने निको भएर घर फर्किएकाको संख्या १ सय ६७ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.