|

बाग्लुङ : म्याग्दीको धवलागिरि गाउँपालिकामा पहिरोमा परी हराइरहेकामध्ये थप एक जनाको शव फेला परेको छ। उद्धारमा खटिएको नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले आइतबार दिउँसो गाउँपालिका खेमलाल जुग्जालीको शव फेला पारेको हो।

यससँगै म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउने संख्या २८ पुगेको छ। पहिरोमा हराइरहेका थप चार जनाको खोजी कार्य भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। आइतबार दिनभर धौलागिरि र मालिका गाउँपालिकामा हराइरहेकाहरुको खोजी जारी रहेको उनले बताए। आइतबार साँझसम्म फेला नपरेका ४ जनाको सोमबार खोजतलास गरिने उनको भनाइ छ।

गत बिहीबार राति र शुक्रबार बिहान आएको भीषण पहिरोमा परी म्याग्दीमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। हराइरहेकामध्ये ३ जना सम्पर्कमा आइसकेका र थप चार जना अझै हराइरहेका म्याग्दी प्रशासनले जनाएको छ।

प्रजिअ ढकालका अनुसार, जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका वडा नं ७ बिममा गएको पहिरोमा बेपत्ता भएकाहरुको सुरक्षाकर्मीले खोजतलास जारी राखेका छन्। शनिबार साँझ ७ जना मृत अवस्थामा फेला परेका थिए। पहिरोका कारण दर्जनौं परिवार विस्थापित भएका छन् भने केही घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दाङमा बगेर दुई जनाकाे मृत्यु

यसैबीच दाङमा २  जना नदीमा मृत अवस्थामा फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका १२ का ६५ वर्षका कालिचरण चौधरी आइतबार  दिउँसो पौने २ बजेतिर तुलसीपुर ११ बबई नदीको किनारामा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। 

चौधरी  असार २६ गते साँझ ६ बजेतिर तुलसीपुर १५ गोठुवामा आफ्नै खेतमा रोपाइँ गरी घर फिर्ता भएका उनी त्यसपछि बेपत्ता भएका थिए। उनी घर नआएपछि आफ्न्तले खोज तलास गर्दै जादाँ बबई नदीको किनारामा मृत अवस्थामा भेटिएको प्रदेश ५ प्रहरी कार्यालय दाङले जनाएको छ। साथै घटनाबारे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी राप्ती नदीमा एक युवा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। शनिबार दिउँसो साढे २ बजे प्युठानको मल्लरानी गाउँपालिका ५  बेलडाँडाका २७ वर्षीय दीपक थापा झिमरुकु खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए। 

थापाको शव आइतबार दिउँसो सवा २ बजे दाङ गढवा गाउँपालिका २ महदेवास्थित राप्ती नदीको महदेवाको पक्कीपुल मुनि पानीमा तैरिरहेको अवस्थामा फेला परेको  प्रदेश ५ का प्रहरी कार्यालय दाङका प्रवक्ता एवं एसएसपी राज कुमार बैदवारले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.