भारतीय न्यूज च्यानलमाथिको प्रतिबन्ध नहटाइने

|

काठमाडौं : भारतीय टेलिभिजनसहितका सञ्चारमाध्यमहरुले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे अतिरञ्जित र भ्रामक सामग्री प्रसारण गरेपछि नेपालले भारतलाई 'प्रोटेस्ट नोट' पठाएको छ।

नेपालको सार्वभौमिकतामाथि नै प्रहार गर्ने उद्धेश्यका साथ भारतीय सञ्चारमाध्यमले अतिरञ्जित र भ्रामक सामग्री प्रसारण गरेपछि परराष्ट्र मन्त्रालयले आइतवार दिल्लीस्थित नेपाली दूतावासमार्फत गम्भीर आपत्तिसहितको 'प्रोटेस्ट नोट' पठाएको हो। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झूटा र उच्छृङ्खल समाचार प्रसारण भएको विरोधमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको हो। 

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित अतिरञ्जित समाचार सामग्रीमाथि आवश्यक कदम चाल्न भनिएको छ। परराष्ट्रले भारत सरकारलाई आगामी दिनमा यस्ता सामग्रीले स्थान नपाउने सुनिश्‍चित गर्न पनि आग्रह गरेको छ। 

'भारतीय न्यूज च्यानलहरूले नेपाल सम्बन्धमा भ्रामक,आपत्तिजनक र काल्पनिक धारावाहिक शैलीका सामग्री बनाएर दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्न खोजेको देखियो', परराष्ट्रका एक अधिकारीले भने, 'नेपालको सार्वभौमिकता, यहाँको राजनीतिक नेतृत्व र प्रधानमन्त्रीमाथि नै गम्भीर आक्षेपसहितको सामग्री प्रसारण गर्ने क्रम नरोकेपछि भारत सरकारलाई गम्भीर आपत्तिसहितको कुटनीतिक नोट पठाइएको हो।'

परराष्ट्रले भारतीय सञ्‍चारमाध्यमबाट प्रसारित सामग्रीहरूलाई दुर्भावनापूर्ण भनेको छ। 'भारतका केही सञ्‍चारमाध्यममा देखिएका दुर्भावनापूर्ण सामग्रीहरूमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यी सामग्रीहरु झूटा, आधारहीन र संवेदनहीन हुनुका साथै नेपाल र यसको नेतृत्वको अपमान गर्ने खालका छन्', परराष्ट्रको प्रोटेस्ट नोटमा भनिएको छ, 'यस्ता सामग्रीले दिग्भम्रित र कुसूचित गर्नुका साथै सभ्य समाजमा अपेक्षित न्यूनतम सार्वजनिक शिष्टता एवम् मर्यादाको उल्लंघन गरेका छन्। भारतीय सञ्चारमाध्यमको एउटा पक्षबाट भइरहेको यस्तो घिनलाग्दो अभियानले नेपाली जनताले नेपाली नेतृत्वको चरित्रलाई गहिरोसँग आघात गरेको छ।'

प्रतिबन्ध तत्काल नहटाइने

यसैबीच भारतीय न्यूज च्यानलहरु माथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो। 

नेपाल मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिँदासम्म बन्देज कायम राख्‍न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताए।

सञ्‍चार मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरु माथिको बन्देज तत्काल नखोलिने बताएका हुन्। 

नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भए पनि भारतीय न्यूज च्यानलहरूले दुराशयपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उनले बताएका छन्। 

'नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ। राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यबद्धता हामीले प्रदर्शन गरेका छौँ। यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन्। एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँदैन', उनले भने, ' भारतीय मिडियाहरुको कदमलाई हामीले दुराशयपूर्ण भनेर भनिसकेका छौँ। केही च्यानल बन्द भएको अहिलेको अवस्था हो। सेवा प्रदायकहरुले स्वतस्फूर्त रुपमा राष्ट्रियता प्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाउनुभयो। परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिँदासम्म प्रतिवन्ध कायम राख्‍न म आग्रह गर्दछु।'

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चार माध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन्। पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन/प्रशारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरू बन्द गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.