|

काठमाडौं : नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ। 

कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए।

वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ। टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ। 

कम्पनीले वाईफाईसँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महत्वपूर्ण हुने भएकाले यससँगै त्यो सुविधा पनि हुनेछ, उनले भने।

टेलिकमले आफ्ना संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराउने डिभाइसमा टेलिफोनको छुट्टै पोर्ट हुनेछ। त्यसैमार्फत सामान्य टेलिफोनमा जोडेर कुराकानीका लागि प्रयोग गर्न सकिने छ । उक्त डिभाइसमा सिमकार्ड प्रयोग हुनेछ। यद्यपि त्यसको नम्बर भने टेलिकमले अहिले जिल्लाअनुसार उपलब्ध गराइरहेको कोडबाट सुरु हुनेछ।

इन्जिनियर नेपालका अनुसार चितवनको प्रयोगकर्ता हो भने ०५६ बाट फोन नम्बर सुरु हुनेछ। टेलिकमले गाउँगाउँसम्म विस्तार गरेको सीडीएमएको फिक्स्ड फोन विस्थापन गर्ने र वाइम्याक्स पनि प्रभावकारी हुन छाडेपछि यी दुवैलाई समाहित गरेर नयाँ योजना अगाडि सारेको हो।

तत्काल संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराइने यो सुविधा व्यक्तिगत प्रयोगकर्तालाई टेलिकमले उपलब्ध नगराइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए। 

सर्वसाधारणमा व्यापक रूपमा गयौँ भने ब्यान्डविथ सबै यसमै प्रयोग हुन्छ, त्यसो हुँदा मोबाइल ब्रोडब्यान्ड महँगो हुन्छ, उनले भने– धेरै बाँडेर रिसोर्स सकियो भने फेरि रिसोर्स थप्नुपर्छ, जुन निकै सीमित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.