|

भद्रपुर (झापा) : भारतीय ५०० रुपैयाँको नक्कली नोटको कारोबार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले भारतीय ५०० रुपैयाँको दरका एक लाख ४४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा कनकाईनगरपालिका–३ का सुन व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाई–४ का २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका–५ का २४ वर्षीय एराजुल हक रहेको एसपी कोइरालाले बताए। उनीहरूलाई शनिवार राति कनकाई नगरपालिका क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

‘गत शनिवार दिउँसो खुर्सैदआलमले ५०० रुपैयाँका भारतीय नोटको कारोबार गरेको प्रहरीलाई सूचना आएको थियो,’ एसपी कोइरालाले भने, ‘ती नक्कली नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइ राखेको गोप्य सूचनाका आधारमा प्रहरीले शनिवार नै छापा मारेर बरामद गरेको हो।’ आलम र हकले नक्कली भारतीय नोट भारतबाट ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।

प्रहरीले श्रेष्ठका घरबाट ५०० रुपैयाँ दरका २८८ थान नक्कली भारतीय नोट फेला पारेको हो। उनीहरूको साथबाट नेपाली नोट एक हजारका चार थान र ५०० का ३३ थान गरी २० हजार ५०० रुपैयाँ समेत प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले जानकारी दिए। पक्राउ परेका तीनजनालाई खोटा चलनसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए।

कोरोना भाइरसका कारण नेपाल–भारत सीमा सिलसँगै लकडाउनको फाइदा उठाउँदै उनीहरूले नेपाली बजारमा भारतीय नक्कली नोटको कारोबार गर्दै आइरहेको हुन सक्ने प्रहरीको आंका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.