|

काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर भइरहेको प्राकृतिक प्रकोपमा परेर जनधनको क्षति भइरहेको प्रति दुख व्यक्त गरेका छन्। केही दिनयताको अविरल वर्षाका कारण देशभर धेरैको ज्यान गइसकेको छ। 

पूर्वराजाद्वारा जारी वक्तव्यमा प्रकोपमा परी धेरै नेपालीले ज्यान गुमाउनुपरेकाे भन्दै आफू दुखित भएको उल्लेख छ। ‘हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरबारविहीन भएको सुन्दा, देख्दा र बुझ्दा अत्यन्त दुखित भएको छु।’ जारी वक्तव्यमा भनिएको छ। 

शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैको राहत, उद्धार र उपचार होस् भन्दै वक्तव्यमा विनासको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने आग्रहसमेत उनले गरेका छन्। 

प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाऊन् भन्ने कामना गर्दै पूर्वराजाले प्राकृतिक विपदको यो समयमा शोक सन्तप्त पीडित सबैमा समवेदना व्यक्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.