|

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्। 

नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको बताए। भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनकाे भनाइ छ। 

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौँ', उनले भने, 'हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्यालाई दिएका हौँ हामीले।'

उनले अयोध्या पनि नेपालकै भूमि रहेको तर्क गरेका छन्। 'अयोध्या भनेको वीरगन्जभन्दा अलि पश्चिम पट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन', उनले अगाडि भने, 'अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डितजी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन।'

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्‍न समेत गरे। त्यो समयमा कुनै सञ्चार सुविधाबिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, त्यस बेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस्। थाहा हुन सम्भव थिएन। नजिकै पर्थ्यो, सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरि एक हमलामाथि अर्को।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो शृंखलाले निरन्तरता पाउन नसकेको बताए। आजै हिमवत्खण्ड कला साहित्य सम्मीलन २०७५ स्मारिका समेत विमोचन गरिएको छ। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.