परिवारै पुरिए पहिराेमा

|

तनहुँ : ​आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी जिल्लामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। 

पहिरोमा परी ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलीका ३० वर्षीय भेष बहादुर थापा, उनकी श्रीमती २८ वर्षीया नानुमाया, भाइ २२ वर्षीय महावीर, बुहारी १९ वर्षीया मनिसरा र छोरी ५ वर्षीया अमिसाकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। 

उनका अनुसार व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीय अञ्जना तथा सोही ठाउँकी ७० वर्षीया मैतीकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ का १७ वर्षीया लक्ष्मी विकको पहिरोमा पुरिएर मृत्यु भएको छ भने व्यास–९ का २० वर्षीय राजेश थापा र व्यास–११ का ५२ वर्षीय पदम बहादुर भुजेलको खोजी कार्य जारी रहेको पौडेलले बताए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीहरुले उनीहरुको उद्धारको काम गरिरहेको उनको भनाइ छ।  

पहिरोमा परी घाइते भएका व्यास–९ का ५० वर्षीय केशर बहादुर थापालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ऋषिङ–८ पल्ट्याङ भैंसीकिलीका आन बहादुरका श्रीमती ६० वर्षीया ज्योतिमाया थापालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराइएकाे छ। 

ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलीका आन बहादुर र उनकी श्रीमती पुरानो घरमा सुतेको अवस्थामा पहिरो घर आएकाे र परिवारका सदस्यहरु नै पुरिएका हुन्। आन बहादुरका छोराहरु, बुहारीहरु र नातिनी भने भर्खरै मात्र बनाइएको नयाँ घरमा सुतेका थिए। पुरानो घरमा पहिरोले कम क्षति पु¥याएको छ भने नयाँ घरमा पूर्ण रुपमा क्षति पुर्‍याउँदा परिवारकै मृत्यु भएको हो। 

मेसिनको प्रयोगबाट शवको खोजी

पहिरोमा परी हराइरहेका दुई जनाको शव सोमबार साँझसम्म पनि भेटिएको छैन। शव खोजी गर्दा समेत नभेटिएपछि मेसिनको प्रयोग गरी खोजी कार्य थालिएको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। 

‘अन्य ठाउँका पहिरोमा हराएका व्यक्तिहरुको शव निकाल्न सफल भए पनि व्यास नगरपालिकाको पहिरोमा परेका दुई जनाको शव नभेटिएपछि मेसिनबाट खोज्न थालिएको छ,’ पौडेलले भने। 

व्यास नगरपालिका–९ मा करिब दुई सय मिटर लामो पहिरो खसेको छ भने व्यास ११ मा एक सय मिटर लामो दुरीमा पहिरो पुगेकाले खोज्न समस्या भएसँगै मेसिनबाट खोज्न थालिएको उनले बताए। नेपाली सेना, प्रहरी र स्थानीयवासीहरुले हराइरहेकाको खोजी गरिरहेको भएपनि नभेटिएको उनले बताए।  

गाउँपालिकाद्वारा पीडितलाई एक लाख सहयोग

ऋषिङ–८ पल्ट्याङ भैंसीकिलीका आन बहादुर थापाको घर पहिरोे पुरिएर धनजनको क्षति भएपछि गाउँपालिकाले सोमबारै राहत उपलब्ध गराएको छ। आन बहादुरका परिवारका सदस्यहरुको ज्यान गएपछि सोही ठाउँमा पुगी गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्ष गिनुमाया थापा, गाउँपालिकाका जनप्रतिनिधिहरु एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। 

गाउँपालिकाले आन बहादुर लगायत पहिरोले त्यस आसपासका क्षेत्रमा क्षति पुगेका घरपरिवारलाई समेत स्थानान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए। पहिरोमा हराएका गाउँपालिकाका सबैको शव निकालिएको उनले बताए। 

करिब दुई सय घरधुरी विस्थापित

मनसुन सक्रिय भएसँगै भएको वर्षाले आएको बाढी पहिरोमा परी तनहुँमा करिब २०० घरपरिवार विस्थापित भएका छन्। व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका गरी सो घरधुरी विस्थापित भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। 

विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थित पारिएको उनले बताए। उनका अनुसार धेरै विस्थापित भने व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.